०.७९ प्रतिशतले मूल्यवृद्धि घट्दा काठमाडौं सबैभन्दा महङ्गो

  २०७६ कार्तिक ६ गते १३:२५     विकासन्युज

काठमाडौँ । भदौ महिनामा ०.७९ प्रतिशतले मूल्यवृद्धि घटेको छ । साउनमा ६.९५ प्रतिशत रहेको मूल्यवृद्धि भदौमा ६.१६ प्रतिशतमा ओर्लिएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो । गत भदौमा भएको मूल्य वृद्धि आर्थिक वर्ष २०७५/७६ को भन्दा २.३ प्रतिशतले बढी हो । गत आवको भदौमा ३.८६ प्रतिशत मूल्य वृद्धि रहेको थियो ।

समग्रमा साउनको तलुनामा भदौमा केही मूल्यवृद्धि कम भएपनि तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य अत्याधिक बढेको छ । गैर–खाद्य उपसमूहको लुगा तथा जुत्ता, घरायसी उपयोगका वस्तु तथा सेवा र शिक्षा उपसमूहको समेत उच्च मूल्य वृद्धि रहेको छ ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ६।५१ प्र्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ५.८९ प्रतिशत रहेको छ । साउनको तुलनामा भदौमा खाद्य तथा गैर–खाद्य दुबै समूहको मूल्य वृद्धि घट्दा यसको असर समग्र मूल्य वृद्धिमा परेको राष्ट्र बैंकले जानएको छ ।

साउन महिनामा खाद्य समूहको ८.०२ र गैर-खाद्य समूहको ६.१२ प्रतिशत मूल्य वृद्धि कायम रहेको थियो । २०७५ को भदौमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १.४२ र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.८१ प्रतिशत थियो । २०७६ को भदौमा यी दुबै समूहको मूल्यवृद्धि बढेको छ ।

काठमाडौं सबैभन्दा महङ्गो

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले काठमाडौंको जीवनशैली दिनप्रतिदिन महङ्गिदै गएको देखाएको छ । गत साउनको तुलनामा काठमाडौंको मूल्यवृद्धि केही घटेपनि २०७५ भदौको भन्दा अत्यधिक मूल्य वृद्धि भएको छ ।

२०७५ को भदौमा काठमाडौंको मूल्यवृद्धि अन्य क्षेत्रको भन्दा अत्यन्त कम भएपनि यस वर्षको भदौमा अत्यधिक मूल्यवृद्धिको सूचिमा काठमाडौं उपत्यका परेको छ । गत आवको भदौमा काठमाडौंमा जम्मा २.९८ प्रतिशतमात्र मूल्यवृद्धि थियो भने यस आवको भदौमा मूल्यवृद्धि बढेर ७.९० प्रतिशत पुगेको छ । गत साउनमा काठमाडौंमा ८.६३ प्रतिशत रहेको थियो ।

२०७६ को भदौमा तराईमा ५.६९, पहाडमा ५.०९ र हिमालमा ५.०२ प्रतिशत मूल्य वृद्धि रहेको छ । गत आवको भदौमा तराईमा ३.३८, पहाडमा ५ र हिमालमा ३.३५ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.