चिन्तामणि शिवाकोटीले भने- भन्नेहरुले मलाई राजावादी र काँग्रेस भने

  २०७६ कार्तिक ५ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकमा बसेर काम गर्दा आफूलाई काँग्रेस, राजावादी र माओवादीसम्म भएको आरोप लागेको भन्दै कर्मचारीहरुलाई कुनै राजनीतिक दलविशेषको कार्यकर्ताजस्तो नभई राष्ट्रसेवक जस्तो भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम गभर्नरको रुपमा जिम्मेवारी सम्हालिरहेका आफूलाई काँग्रेस सरकार हुँदा आफूलाई काँग्रेस नै भएको, राजाको प्रत्यक्ष शासनकालमा आफूलाई राजावादी भनेको, जनआन्दोलन पछिको सरकार हुँदा आफूलाई माओवादी भएकोसम्म भनेको भन्दै आफूले राष्ट्र बैंकमा रहेर  देश र जनताको हितलाई ध्यानमा राखेर काम गरेको बताए ।

उनले कर्मचारीको हितका लागि संगठनहरु खाेल्नु छुट्टै भए पनि उनीहरुका गतिविधि कर्मचारीको हकहितका लागि मात्रै केन्द्रित हुनुपर्ने भन्दै कर्मचारीलाई अति राजनीतिकरण नगर्न निर्देशन समेत दिए । उनले भूकम्पपछि नेपाल राष्ट्र बैंकको संरचना छिन्नभिन्न हुँदा काम गर्न अप्ठ्यारो परेको भन्दै उनले भवन निर्माणको काम धमाधम अघि बढेकोले अब छिट्टै राष्ट्र बैंकले राम्रोसँग सेवा प्रदान गर्ने भौतिक अवस्था बन्ने बताए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघले मंगलबार बैंककै प्रांगणमा चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपा निकट कर्मचारीहरुको संगठनले गरेको उक्त कार्यक्रममा काँग्रेसनिकट नेपाल राष्ट्र बैंक कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघलाई पूर्ण वेवास्ता गरिएको थियो । काँग्रेसनिकट नै भए पनि संगठनमा नरहेका उच्च अधिकारीहरुलाई भने चियापानमा निम्त्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.