बैंकको ऋणको ब्याजदर निरन्तर बढ्दै, ठूला बैंकहरुलाई नै निक्षेप जोगाउन मुस्किल

  २०७६ कार्तिक ५ गते ९:२५     विकासन्युज

काठमाडौं । गत चैत मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५.३८ प्रतिशत थियो । बैशाख महिनादेखि सो स्पेडदरका आधारमा ऋण लिने अधिकांशको ब्याजदर एक अंकमै सीमित थियो । सो आधारदर अनुसार बैंकबाट १.३८ प्रतिशतदेखि ११ प्रतिशतसम्ममा ऋण पाइन्थ्यो ।

सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गतका कर्जामा स्प्रेडदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिँन पाइँदैन भने त्यही ऋणमा ६ प्रतिशतसम्म ब्याज अनुदान पनि पाइन्छ । यसो हुँदा महिला उद्यमीहरुले १.३८ प्रतिशत र अन्य सहुलियतपूर्ण कर्जाका ऋणीहरुले २.३८ प्रतिशत ब्याजमै ऋण पाउनसक्ने अवस्था थियो ।

सबैभन्दा बढी ब्याज तिर्नेले पनि ११.०५ प्रतिशत भन्दा बढी ब्याज तिर्नु पर्दैनथ्यो । त्यसमा पनि भाखा नाघेको १५ दिनभित्र ऋण चुक्ता वा नवीकरण गरे त्यो दर ११ प्रतिशतमै सीमित हुन्थ्यो । बैंकले लामो अवधिको घरकर्जा र ब्याक्तिगत कर्जामा त्यतिबेला ५.६७ प्रतिशतसम्म ब्याज प्रमियम तोकेको थियो । अन्य कर्जाहरुको हकमा भने औसत ३ देखि ४ प्रतिशतको प्रिमियम कायम गरिएको थियो ।

तर अहिले समय बदलियो । करिब ६ महिनाको अन्तरमा बैंकको यो अवस्थामा निकै परिवर्तन आइसकेको छ । भदौ मसान्तको आधारदर अनुसार कात्तिकका लागि ब्याजदर निर्धारण गर्दा बैंकको आधारदर ६.८९ प्रतिशतमा आइपुगेको छ जसका कारण ऋणको ब्याज कम्तीमा पनि १.५१ प्रतिशतसम्म बढ्यो । सहुलियतपूर्ण कर्जा लिनेका हकमा त यो दोब्बर भन्दा पनि बढीसम्म हो ।

किन समस्या पर्यो आरबीबीलाई ?

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकको स्प्रेडदर घटाउने नीति, बैंकिङ क्षेत्रमा देखिएको पुँजीगत अभाव र राज्यप्रणालीको संरचनागत परिवर्तन र बढ्दो वित्तीय चेतनाका कारण बैंकको निक्षेप पलायन हुन थालेपछि बाध्य भएर बैंकले निक्षेपको ब्याजदर बढाउनुपरेको हो । यसले गर्दा आधार ब्याजदरलाई प्रत्यक्ष प्रभाव पार्यो जसले गर्दा ऋणको ब्याजदर समेत महँगो हुँदैगयो ।

खासगरी असार मसान्तसम्म ४.५ प्रतिशतमा स्प्रेडदर सीमित हुनुपर्ने राष्ट्र बैंकको नीतिसँगै राष्ट्रिय वाणिज्य बैंकले त्योबेला २.५ प्रतिशतको न्यूनतम ब्याज दिने साधारण बचत खाताको ब्याजदर एकैपटक ३.५ प्रतिशत पुर्यायो । यद्यपि बैंकले असार मसान्तसम्म केन्द्रीय बैंले तोकेको सीमामा स्प्रेडदर कायम गर्न भने सकेन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आएको स्प्रेडदर गणना विधि परिवर्तनले बैंकको मार्जिन झनै खुम्च्याउनुपर्ने बाध्यता आइलाग्यो । राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी भन्छन् – यही कारणले निक्षेपको ब्याजदर बढाउँदै गएका हौं । त्यसमाथि आफ्नो निक्षेप जोगाउनकै लागि पनि हामीले ब्याजदर बढाएका हौं ।

अहिले सो बैंकको निक्षेपमा दिने न्यूनतम ब्याजदर नै ४ प्रतिशत छ भने अधिकांश खाताहरुको यो दर ६ प्रतिशत पुर्याइसकेको छ । यसले आगामी दिनमा बेसरेटमा चप थाप पर्नसक्ने देखिन्छ । प्रत्येक महिना बेसरेट बढ्दै गएपछि बैंकले प्रत्येक महिना नयाँ स्प्रेडदर अनुसार नयाँ ब्याजदर निर्धारण गर्दै आएको छ, यसले गर्दा ऋणीहरु भने महिनैपिच्छे ब्याजदर वृद्धिको मारमा पर्दै आएका छन् ।

तर राष्ट्रय वाणिज्य बैंकको ब्याजदर वृद्धिमा त्यतिमात्रै कारण छैन । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनपछि स्थानीय तहमा खुलेका बैंकका शाखाहरुमार्फत् नै ती कर्मचारीहरुको बैंकको तलबभत्ता जान थाल्यो । पहिले जिल्लाबाट त्यस्तो तलबभत्ता वितरण हुने र प्रायजसो सबै जिल्लामा सो बैंकको शाखा भएका कारणले पनि सरकारी भुक्तानीहरु सोही बैंकबाट हुन्थ्यो, त्यसले राष्ट्रिय वाणिज्य बैंकलाई थप चाप पर्यो ।

राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारमा आफ्नो शाखा खोलेर सिंहदरबारका कर्मचारीलाई आफूतिर तान्ने प्रयास गरेको पनि हो तर यो प्रयासले पनि उल्लेख्य रुपमा काम गरेन । राष्ट्रि वाणिज्य बैंककै एकजना उच्च कर्मचारी भन्छन् – सरकारी कर्मचारीहरु पनि पहिलेजस्तो स्थिर नभएनन्, १/२ प्रतिशत ब्याज धेरै पाउने भएपछि निक्षेप सिफ्ट गर्न थालिहाले निक्षेप जोगाउनकै लागि भए पनि ब्याजदर बढाउनुपर्ने भयो । संस्थागत निक्षेपमा हामीलाई अझै समस्या थिएन, तर ५०/५० को क्यापकै कारणले पनि हामीलाई समस्या भयो ।

ती कर्मचारीकै भनाईमा बढ्दै गएको भुक्तानी प्रणालीको विकासको मार यदि कसैलाई परेको छ भने त्यो आरबीबीलाई नै परेको छ । अहिले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङको जमाना छ, १/२ प्रतिशत ब्याजदर घटबढ भए पनि इलेक्ट्रोनिक ट्रान्सफर गरेरै पनि डिपोजिट सिफ्ट गर्छन्–उनको भनाई थियो ।

अरु बैंकमा पनि उस्तै समस्या

बैंकको आधार ब्याजदर बढ्दै गए पनि अहिलेसम्म पनि यो बैंक सबैभन्दा कम आधारदर भएको बैंक हो । स्ट्यान्डर्ड चार्टर्डले ७.६३, नबिल बैंकले ७.९४ प्रतिशत र नेपाल बैंकले ७.९८ प्रतिशतलाई बेसरेट मानेर ऋणको कारोबार गर्दै आएका छन् । नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्डको यो स्प्रेडदर असार मसान्तको हो भने नबिलको भदौ मसान्तको हो ।  सबैं बैंकहरुको यो दर अघिल्ला त्रैमासको तुलनामा बढी हो । निक्षेप पलायन रोक्न ब्याजदर बढाउँदा यी सबै बैंकहरुमा यो दर बढ्दै गएको हो । निक्षेप र ऋण प्रवाहमा धेरै भार भएका यी बैंकहरुको ब्याजदरको कारणले समग्र ब्याजदर यो त्रैमासमा बढेर आउने हो कि भन्ने विश्लेषण राष्ट्र बैंकका अधिकारीहरुले समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.