एनएमबिले सुरु गर्यो इकाईधनीको पैसा फिर्ता प्रक्रिया : ७७ प्रतिशत लाभांश पाए, अब कति आउला ?

  २०७६ कार्तिक ४ गते १३:०१     विकासन्युज

काठमाडौं । कात्तिक २ गते एनएमबि म्युचुअल फण्डको सञ्चालनमा रहेको पहिलो म्युचुअल फण्ड योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले आफ्नो ५ वर्षे परिपक्व अवधि पूरा गर्यो । २०७२ भदौ २४ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई सोही वर्ष कात्तिक पहिलो सातादेखि सञ्चालन भएको यो म्युचुअल फण्डको अवधि असोज मसान्तमा सकिएको हो । फण्डको अवधि सकिएसँगै असोज मसान्तदेखि नेपाल स्टक एक्सचेञ्जमा यसको सूचीकरण खारेज भएको छ ।

इकाईधनीले कति पाए ?

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले सञ्चालन अवधिभर ४ पटक लाभांश दिएको छ । फण्डले सञ्चालन भएको दोस्रो वर्ष २० प्रतिशत, तेस्रो वर्ष २१ र चौथो वर्ष २१ प्रतिशत र याे अन्तिम वर्ष १५ प्रतिशत समेत गरी जम्मा ७७ प्रतिशत लाभांश दिएको हाे  । याे लाभांशपछि साे फण्डकाे प्रतिइकाई खुद मूल्य असाेज मसान्तमा १० रुपैंया ५३ पैसा कायम भएको छ ।

अब कति फिर्ता पाइन्छ ?

दोस्रो बजारमा उक्त फण्डको कारोबार बन्द भइसकेको छ । असोज ३० गते कारोबार बन्द हुँदा कायम रहेका इकाईधनी उक्त फण्डको रकम फिर्ताको सूचीमा पर्नेछन् । फण्डको नाममा भएको चल अचल सम्पत्तिलाई बिक्री गरेर आउने रकममा सो गर्दा लाग्ने शुल्क तथा अन्य कटाएर बाँकी रहेको रकम फिर्ता गरिन्छ ।

परिपक्व अवधिपछि फण्डको एनएभी रिपाेर्ट त प्रकाशित भएको छैन तर भदौ मसान्तमा १० रुपैंया ५३ पैसा एनएभी रहेको फण्डको असोज मसान्तमा पनि सोही हाराहारीमा वा त्योभन्दा अझै बढी  रहेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए ।

भदौ मसान्तमा फण्डको नाममा ५ करोड ६८ लाख ६६ हजार रुपैंया बराबरको शेयरसमेत गरी २३ करोड ५० लाख रुपैंया बराबरको धितोपत्र, ६५ करोड ९० लाख नगद मौज्दात र १ करोड १८ लाख बराबर अन्य सम्पत्ति र १ करोड १२ लाख रुपैंया बराबरको दायित्व घटाउँदा १० रुपैंया ५३ पैसा एनएभी कायम भएको हो ।

असोज महिनामा यसको एनएभी केही बढेको तथा कोषसँग भएको नगदबाट फिर्ता अवधिसम्म प्राप्त हुने ब्याजसमेत हिसाब गर्दा इकाईधनीले १०.५० रुपैंयादेखि १०.६० रुपैंयासम्म फिर्ता पाउने सम्भावना रहेको समेत प्रमुख कार्यकारी अधिकृत घिमिरेको अनुमान थियो ।

कहिलेसम्म पाइएला रकम ?

शनिबारमात्रै परिपक्व भएको सो फण्डको लिक्विडेसन प्रक्रिया सुरु भइसकेको छ । लिक्विडेसनका लागि लिक्विडेटर कमिटी बनाउने, लिक्विडेटरको रिपोर्टको लेखापरीक्षण गर्ने र त्यसलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्छ भने सोही अवधिभित्र धितोपत्रहरु बिक्री गर्नुपर्छ ।

धितोपत्रमा गरेका लगानीमध्ये दोस्रो बजारमा बिक्रीयोग्य शेयरहरु सिधै बिक्री गर्ने, सिधै बिक्री नगरेका धितोपत्र र अन्य सम्पत्तिहरु लिलामीमा बिक्री गर्नुपर्छ । ‘यी सबै प्रक्रिया पूरा हुन पुसको दोस्रो हप्तासम्म लाग्नसक्छ, तर हामी सकेसम्म छिटो प्रक्रिया सक्ने प्रयासमा छौं, जति छिटो सक्यो त्यति हामीलाई नै राम्रो हो’ घिमिरेले भने ।

धितोपत्र बजारमा परिपक्व हुने एनएमबि म्युचुअल फण्ड चौथो हो । यसअघि सिद्धार्थ क्यापिटलका दुईओटा र नबिल इन्भेष्टमेन्ट सञ्चालनमा रहेको  एउटा सहित तीनओटा फण्डहरुले परिपक्व भई लगानीकर्तालाई रकम फिर्ता गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.