भञ्ज्याङहरुमा सडक, भित्ता-भित्तामा सुरुङ : काठमाडौंसँग देश-परदेश जोड्दै यी १० आयोजना

  २०७६ कार्तिक ४ गते ७:३७     विकासन्युज

काठमाडौंलाई मोफसलसँग जोड्ने दोस्रो सुरुङमार्गको शिलान्यास सोमबार हुँदैछ । काठमाडौं उपत्यकाको लाइफलाइनको रुपमा रहेको नागढुंगा नौबिसे सडकखण्डको वैकल्पिक मार्गका रुपमा नागढुंगादेखि नौबिसेसम्म जोड्न २.६ किलोमिटर लम्बाइको दुईवटा फ्लाई ओभरसहितको यो सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा आन्द्रो जेभीलाई ४२ महिना समयसहित १६ अर्बको ठेक्का दिनेगरी यसअघि सहमति भएकोमा यसको शिलान्यास हुन लागेको हो । योसँगै काठमाडौं उपत्यकालाई मोफसलसँग जोड्ने दोस्रो सुरुङमार्ग निर्माणको थालनी हुने भएकोे छ ।

काठमाडौं उपत्यकाको पहाड छेड्ने पहिलो सुरुङमार्गको भने ब्रेकथ्रु भइसकेको छ । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म जोड्ने २७.५ किलोमिटर लामो सुरुङमार्ग २०७४ चैत महिनामै छेडिएको थियो । उपत्यकालाई जोड्ने दुई सुरुङमार्गको निर्माण सुरु हुँदैगर्दा काठमाडौं उपत्यकालाई चारैतर्फबाट जोड्ने योजनाहरु अघि बढिरहेका छन् । नागढुंगा र मेलम्चीसहित ४ ओटा सुरुङमार्ग, रेलमार्ग र अन्य एक दर्जन भन्दा बढी सडकले काठमाडौं उपत्यकालाई जोड्नेगरी निर्माण र स्तरोन्नतिका कामहरु अघि बढेका हुन् ।

अरु कुन कुन आयोजनाले जोड्दैछन् काठमाडौंलाई ?

१. नागढुंगा–नौबिसे– मुग्लिन सडक

नौबिसेदेखि नागढुंगासम्म सुरुङमार्ग बन्दैगर्दा उता अहिले चल्दै आएको नौबिसे र नागढुंगा जोड्ने सडकलाई विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । साँघुरा घुम्तीहरुलाई विस्तार गरी पूर्ण २ लेनको सडक बनाउने योजना अघि बढेको हो ।  यो योजना नागढुंगादेखि नौबिसेसम्म मात्रै नभएर मुग्लिनसम्मै अघि बढ्नेछ । मुग्लिनदेखि पोखरालाई जोड्ने राजमार्ग विस्तारको प्रक्रिया समेत अघि बढिसकेको छ भने मुग्लिनदेखि नारायणगढ जोड्ने सडक दुई लेनमा विस्तार भइसकेको छ । यसप्रकार काठमाडौंसँग दुईओटा मुख्य महानगर यो मार्गबाट जोडिनेछ । त्यस्तै, काठमाडौं उपत्यकाको स्याटेलाइट सिटीको रुपमा धुनिबेसी क्षेत्रलाई विस्तार गर्ने सम्भावना समेत बढ्नेछ ।

२. सूर्यविनायक–धुलिखेल सडक

कोटेश्वरदेखि सूर्यविनायक सडकलाई ६ लेनको बनाइदिएको जापान सरकारले सूर्यबिनायक देखि धुलिखेल सडकलाई लेनको बनाइदिने भएको छ । १५ किलोमिटर लामो यो सडक बनाउन जापान सरकारले सहुलियतपूर्ण ऋण दिने तयारी गरेको हो । यो सडकमार्ग बन्यो भने अहिले जगाती नाकामा हुँदै आएको जाम घट्नेछ भने बनेपा, धुलिखेल, पनौती जस्ता शहरहरु काठमाडौं उपत्यकाका स्याटेलाइट शहर बन्ने बाटो खुल्नेछ । चीनले विस्तार गरिदिने भनेको अरनिको राजमार्गसँगै यसले तातोपानी नाका हुँदै चीनको व्यापारिक शहर खासालाई जोड्न समेत सक्नेछ ।

३. काठमाडौं-निजगढ फास्ट ट्रयाक

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौंदेखि बाराको निजगढ जोड्ने यो मार्ग अहिले सेनाले निर्माण गरिरहेको छ । डीपीआर स्वीकृति नभएका कारण ठेक्का प्रक्रिया स्वीकृत हुन नसकी ससाना काममा रुमल्लिँदै आएको सेनालाई मन्त्रिपरिषद्ले पडीपीआर स्वीकृत गरिदिएसँगै अघि बढ्ने बाटो खुलेको छ । एक वर्षअघि ४ वर्षको समय दिएर ठेक्का दिएको उक्त सडकको कुल लागत ११२ अर्ब हुने अनुमान गरिएको छ । ७६ किलोमिटर लम्बाई भएको उक्त सडकमा करिब १०० ओटा पुल बन्नेछन् ।

यो योजनाले कुनै स्याटेलाइट सिटी निर्माणको सम्भावना त देखाउँदैन तर तराईलाई काठमाडौंसँग जोड्ने रणनीतिक मार्गको रुपमा यो सडक रहनेछ । बाराको निजगढमा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलका साथै देशकै सबैभन्दा ठूलो बीरगञ्ज नाकासँग जोडिने भएकोले यो योजनासँगै खाद्यान्न तथा निर्माण सामग्रीहरुको ढुवानीको लागत ठूलो मात्रामा घट्ने विश्वास गरिएको छ ।

४. काठमाडौ–हेटौंडा सुरुङमार्ग

काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै हेटौंडासम्म जोडिने उक्त सुरुङमार्गको निर्माणको जिम्मा यसअघि नेपाल पूर्वाधार विकास कम्पनीले दिएको थियो । स्थानीयवासीसँग समेत लगानी उठाएर बनाउन भनिएको नेपालकै पहिलो योजनाको रुपमा विकास भएको उक्त सुरुङमार्गको अध्ययनको सबै काम सकिए पनि उक्त कम्पनीले लगानी जुटाउन नसक्दा त्यसै थन्किएको थियो । अहिले प्रदेश ३ सरकारले यो आफ्नो लगानीमा निर्माण गर्ने घोषणा गरेको छ ।

यो सुरुङमार्गले प्रदेश ३ को अस्थायी राजधानीको रुपमा रहेको हेटौंडा उपमहानगरपालिका र नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्नेछ ।

५. टोखा–छहरे–विदुर सडक

काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म करिब ४.५ किलोमिटरको सुरुङमार्गसहितको विदूर नगरपालिका क्षेत्रलाई जोड्ने सडकका लागि चीन सरकारले सहयोग गर्नेगरी नेपाल सरकार र चीन सरकारका सम्बन्धित मन्त्रालयबीच एमओयू भइसकेको छ । काठमाडौं–केरुङ रेलमार्गको चर्चाबीच चीनको रणनीतिक महत्वमा यो सडक परेकोले पनि यसको निर्माण कार्यले द्रुतगति लिने अपेक्षा गर्न सकिन्छ ।

रसुवागढी–स्याफ्रुबेसी सुरुङ समेत रहे यो आयोजना निर्माण भयो भने नुवाकोटको विदूर नगरपालिकालाई काठमाडौं उपत्यकाको अर्को स्याटेलाइट शहरको रुपमा विकास गर्ने सम्भावना हुन्छ । त्यस्तै काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडकमार्ग समेत यही मार्ग बन्नेछ ।

६. कान्ति लोकपथ

नेपालको सबैभन्दा पूरानो राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथसँगै बनाइएको काठमाडौंलाई हेटौंडासम्म जोड्ने योजना अहिले आएर साकार हुन लागे पनि भौगोलिक विकटता यो मार्गको लागि अझै पनि चुनौतीपूर्ण छ । ललितपूरको सातदोबाटो–चापागाउँ–टिकाभैरव, तीनपानेभञ्ज्याङ, मकवानपुरगढी हुँदै हेटौंडा जोड्ने यो सडक करिब ९० किलोमिटर लम्बाइको हो । करिब साढे ३ अर्ब लागतमा बन्ने यो सडकलाई पनि रणनीतिक महत्वको सडकको रुपमा लिइन्छ । दुई वर्षअघि रमेश लेखक भौतिक पूर्वाधारमन्त्री हुँदा शिलान्यास गरेको यो सडक निर्माणको अन्तिम चरणमा छ ।

७. काठमाडौं–साँखु–सिन्धुपाल्चोक सडक

काठमाडौं उपत्यकालाई ऐतिहासिक नगरी साँखु हुँदै मेलम्चीसम्म जोड्ने यो मार्गले प्राचीन नगरी हेलम्बुलाई समेत काठमाडौंसँग जोड्छ । यो सडकखण्डमध्ये जोरपाटीदेखि साँखुसम्मको ११ किलोमिटर सडकको कालोपत्रे सकिएको छ ।

८. सीतापाइला–धार्के सडक

काठमाडौंको सीतापाइलाबाट भीमढुंगा हुँदै धार्के जोड्ने सडकको ट्रयाक खन्ने काम सकिएको छ । २ लेनको सडकको रुपमा विस्तार गरिने यो सडक नौबिसे–नागढुंगा सडकको बैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको छ । यो सडकमार्ग अबको साढे २ वर्षमा स्तरोन्नती भइसक्नेगरी अघि बढेको छ ।

९. रानीपौवा–बालाजु सडक

काठमाडौंलाई नुवाकोटसम्म जोड्ने हालको मुख्य मार्गको रुपमा रहेको बादाजुदेखि रानीपौवासम्मको सडकलाई दुई लेनको सडकको रुपमा विस्तार गर्ने तयारी गरिएको छ । हालको मुख्य मार्गको रुपमा रहेको यो मार्ग टोखा–छहरे सुरुङमार्गको अर्को समानान्तर वा वैकल्पिक मार्ग बन्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.