चिनीको उपभोग घट्यो, चाडपर्वमा पनि बढेन बिक्री

  २०७६ कार्तिक ४ गते १५:४०     सुनिता पुडासैनी

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चिनीको उपभोग घट्दै गएको छ । केही वर्ष अघिसम्म चाडपर्वको समयमा अधिकतम माग तथा बिक्री हुने चिनीको माग अहिले घटेको व्यवसायीहरु बताउँछन् ।

मधुमेह, उच्च रक्तचाप, हृदयघातका बिरामी बढ्दै गएकाले चिनीको उपभोग घटेको हुन सक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

हाल नेपालीहरु आफ्नो स्वास्थ्य बारे सचेत हुन थालेका छन् । कुन सामाग्री कसरी र कति उपभोग गर्ने भन्ने चेतना भएका कारण चिनीको उपभोग घटेको मञ्चका अध्यक्ष महर्जन बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो छ, नेपालमा उत्पादित चिनी भन्दा बाहिरबाट आयातित चिनीको मूल्य सस्तो पर्ने व्यवसायीहरु बताउँछन् ।

सरकारले चिनीमा लगाएको ४० प्रतिशत भन्सार शुल्कका कारण व्यवसायीले हाल भारत तथा पाकिस्तानबाट चिनी आयात गरेका छैनन् । साउन यता भन्सार विभागको तथ्यांकमा चिनी आयात भएको देखिदैन । यसबाट के बुझिन्छ भने नेपाली बजारमा चिनीको माग आफ्नै उत्पादनले पुगिरहेको छ ।

आर्थिक वर्ष २०७६÷७७को शुरुवातमा ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । जसमध्ये हालसम्म करिब ३०  हजार मेट्रिक टन मात्रै उपभोग भएको छ भने बाँकी करिब ४० हजार मेट्रिक टन चिनी अझै बाँकी रहेको नेपाल चिनी उत्पादन संघले जनाएको छ ।

चिनीमा सल्फरको मात्रा बढी भएको र बजारमा अवैध रुपमा भित्रिएका चिनी छ्याप छ्याप्ती भएकाले उपभोग घटेको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.