प्राइम र कैलाश दुबैले बोनस सेयर दिने, प्राइमको १६ हुँदा कैलाशको १८ प्रतिशत

  २०७६ कार्तिक ३ गते १९:१६     विकासन्युज

काठमाडौं । मर्ज प्रक्रियामा रहेको प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक दुबैले सेयरधनीलाई बोनस सेयर दिने भएका छन् । स्रोतका अनुसार प्राइम बैंकले करिब १६ प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने कैशाल विकास बैंकले करिब १८ प्रतिशत बोनस सेयर दिने तयारी गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुको पुँजी जतिसक्दो बढी होस् भन्ने चाहेको र प्राइम बैंकले पनि चुक्ता पुँजी २२ अर्ब बनाउने लक्ष्य लिएकोले दुबै बैंकले बोनस सेयर जारी गर्न लागेको बताइएको छ ।

दुई बैंक बीच मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईसकेको छ । दुबै बैंकले वार्षिक प्रतिवेदन तयार गर्दैछन् भने डीडीएको काम पनि भईरहेको छ ।

दुई बैंकबीच स्वाप रेसियो १००ः ९४ गर्ने प्रारम्भिक सहमति भएको छ । प्राइम बैंकको प्रतिकित्ता १०० रुपैयाँ र कैलाशको ९४ रुपैयाँ गर्ने पुरानो सहमति छ । डीडीए रिपोर्ट धेरै फरक नदेखिएमा पुरानो सहमतिको आधारमा स्वाप रेसियो तय हुनेछ ।

असार मसान्तको वित्तीय विवरण अनुसार प्राइम बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड छ भने खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ छ । यस बैंकको सेयर प्रतिकित्ता २६० देखि २७० रुपैयाँ बीचमा कारोबार भईरहेको छ ।

मर्जको सहमति हुनुपूर्व कैलास विकास बैंकको सेयर प्रतिकित्ता २३८ रुपैयाँमा किनबेच भएको थियो । चुक्ता पुँजी २ अर्ब ५२ करोड भएको यस बैंकले गत असार मसान्तमा खुद नाफा ६१ करोड ६४ लाख रुपैयाँ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.