टेलिकमद्वारा ‘डाटा रोमिङ प्याक’ सञ्चालन, भारत भ्रमणमा जानेलाई सुबिधा

  २०७६ कार्तिक ३ गते १५:२४     विकासन्युज


काठमाडौँ । नेपाल टेलिकमले कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् ।

दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ ।

खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकम एप मार्फत अथवा यूएसएसडी कोड *1415# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

कम्पनीले गत भदौ २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो । हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.