कन्यामको चियाबारीमा घोडा चढाउने व्यवसायः पर्यटकको आकर्षण, मासिक ७० हजार कमाइ

  २०७६ कार्तिक ३ गते १३:३५     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई घोडामा चढाएर घुमाउने व्यवसाय फस्टाउदै गएको छ । यस्तो व्यवसाय इलामको कन्याममा रहेको चियाबारीमा समेत फस्टााएको छ । त्यहाँ ३९ वटा घोडा पर्यटक चढाउनका लागि राखिएका छन् ।

४ वर्ष अघिदेखि कन्याममा पर्यटकका घोडा चढाएर घुमाउने व्यवसाय सुरु गरेका ३० वर्षीय दुर्गा भुजेलले कुनै दिन १० हजारसम्म कमाएको अनुभव सुनाए । उनले भने–‘मेरा साथीहरु विदेश जान थाले, म के गरौँ भनेर सोचिरहेको थिएँ । अरु साथीहरु १ लाख जति लगानी गरेर विदेशको तातो घाममा काम गर्न गए, तर मैले कन्याममा आएका पर्यटकहरुलाई घोडामा सवार गराउने विचार गरेँ ।’ सुरुमा त साथीहरुले हुँदैन भनिरहेका थिए, काम सुरु गरेका ३ महिना पछि व्यवसाय राम्रो हुँदै गयो–उनले बताए । उनी भन्छन्–‘१ वर्ष पछि आफैँले १ लाखमा घोडा किने त्यसपछि जीवन परिवर्तन हुँदै गयो ।’

अहिले उनीसँग विदेशबाट फर्केका साथीहरुले के गर्दा राम्रो हुन्छ भनेर सल्लाह लिने गरेका छन् । पहिले विदेश जान सकेन भन्ने गाँउलेहरुले पनि घोडा सवार पेशा राम्रो रहेछ भनेर बुझेका छन् । समितिले कन्याममा नयाँ घोडा थप्न दिंदैन । कसैले घोडा सवार व्यवसाय गर्छु भनेर पाउँदैन । समितिले राखेको ३९ वटा घोडा मध्ये नै कसैले बेच्ने भयो भने मात्रै यो व्यवसायमा नयाँ व्यक्तिले प्रवेश पाउने छ । ३० वर्षका भुजेलले बिहान उठेदेखि साँझसम्म पर्यटकलाई घोडा चढाएर डुलाउने गर्छन् । कन्याम घर भएका भुजेलले पर्यटकलाई मनोरञ्जन गराउँदै राम्रो आम्दानी लिन सफल भएका छन् ।

चिया बगानसँगै प्राकृतिक सौन्दर्य हेर्न जाने पर्यटकहरुका लागि इलामको कन्याममा घोडचढी अर्को आकर्षण हो । कन्याम पुगेका पर्यटकलाई चियाबगान र कन्याम आसपासका क्षेत्रमा स्थान बिशेष बारे जानकारी सहित घोडामा चढाएर घुमाउने गरिन्छ । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकहरु सवारी साधनमा भन्दा पनि घोडामै चडेर घुम्न रुचाउने गरेको भुजेलले बताए ।

कन्याममा दैनिक हजारभन्दा बढी आन्तरिक तथा बाह्यपर्यटक आउने गर्छन् । यी पर्यटकहरु अधिकांशले घोडा चढेर कन्यामको चियाबगान परिक्रमा गर्ने गरेको स्थानीयहरु बताउँछन् । भुजेलले २०७२ सालदेखि १० रुपैयाँ शुल्क लिएर घोडा चडाउन शुरु गरेको बताए । अहिले घोडा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनट घुमेको ३५० रुपैयाँ र पुरै कन्याम घुमेको समय हेरेर पैसा लिने गरेको बताउँछन् । उनले घोडामा पर्यटकलाई नै घुमाएर राम्रो आम्दामी गरिरहेका छन् । एक छोरा, एक छोरी र श्रीमतीलाई यही पेशाबाटै गुजारा चलाई मासिक ४०-५० हजार रकम बचत समेत गर्ने गरेको उनले बताए ।

शुरुमा इलामबाट झापासम्म घोडामा तरकारी ढुवानी गरी व्यपार गर्ने गरिन्थ्यो । बिस्तारै कन्याममा पर्यटकले घोडा चढ्न माग गरेपछि एक रुपैयाँ भाडा लिएर यो पेशा सुरु भएको उनी बताउँछन् । घोडा बालबालिका, युवादेखि बृद्धबृद्धासम्मले घोडामा चढ्ने गरेका छन् । चना, मकै, घाँस र सामान्य दानाले घोडालाई हुने भएकाले कम लागतमा पर्यटकलाई घुमाउँदा राम्रो आम्दानी हुने गरेको घोडचढी व्यवसाय सञ्चालन गरिरहेकाहरु बताउँछन् ।

इलामको कन्याम क्षेत्र बिषेश गरी घुम्न, सुटिङ, पिक्निक र अवलोकन भ्रमणका लागि प्रमुख आकर्षणको केन्द्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.