नेपाल भ्रमण वर्ष २०२० सचिवालय र एनआरएनएबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर

  २०७६ कार्तिक ३ गते १२:१४     विकासन्युज

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० र गैरआवसीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्य र संघका अध्यक्ष कुमार पन्तले आइतबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता पत्रमा हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ ।

सहमतिपत्रमा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत उल्लेख गरेको छ । यस्तै संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ ।

साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ । संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ ।

नेपाल भ्रमण वर्षको प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्याली गर्नेछ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि संघले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.