अझै खुलेन भन्सार कार्यालय 

  २०७६ कार्तिक ३ गते ११:३६     विकासन्युज

फिक्कल । दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । उक्त भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ ।

कार्यालयदेखि नजिकै घर भएका एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमा नै भए पनि त्यसयता उनीहरुलाई पनि नदेखेको र कार्यालय पनि नखुलेको बताइएको छ । दशैँपछि सार्वजनिक बिदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा कोही आएका छैनन् ।

सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायले अहिले चासो देखाएको छैन । यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजश्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ ।

पशुपतिनगर भन्सार कार्यालयको मातहतमा रहने छोटी भन्सार कार्यालय प्रायः नखुल्ने गरेको स्थानीयवासीको भनाइ छ । पशुपतिनगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले दशैँपछि कार्यालय नखुलेको आफूलाई जानकारी नभएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.