१२ अर्ब लगानी भित्र्याउन काम सुरु गरिसक्यौंः एनआरएनएका अध्यक्ष कुमार पन्त

  २०७६ कार्तिक ३ गते ८:४६     विकासन्युज


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई राजधानीमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’

पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए ।

उनले भने,‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एमओयु पनि गरिसकेको उनले सुनाए ।

विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । त्यस्तै, अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे ।

कार्यक्रममा नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घटनाको रुपमा चित्रण गरे । नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् ।

त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले पनि श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने बचनबद्धता व्यक्त गरे । एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.