आठ करोडको लागतमा बन्यो राष्ट्रिय आविष्कार केन्द्र, सातवटा प्रडक्ट बिक्रीका लागि तयार

  २०७६ कार्तिक १ गते १६:३८     सन्ताेष राेकाया

काठमाडाैं । ‘नेपालमा सियो पनि बन्दैन’ यो वाक्यले आम नेपालीहरुलाई पनि गिज्याउँछ । केही सामाग्री विदेश जान्छन् र त्यहि सामानले केहि आकार लिएर नेपाल भित्रिन्छन् । यो प्रक्रियाले नेपाल र नेपाली अर्थतन्त्रमा ठूलो घाटा गरेको छ ।

यहि घाटा र सास्तीलाई मध्यनजर गर्दै डा. महाबिर पुनले राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरे । अनुसन्धानमा नविनता र प्रबिधि मार्फत नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने र प्रतिभावान नेपालीको सीप उपयोग गरी नयाँ कुरा आविस्कार गर्ने उद्देश्यका साथ उनले सन् २०१७ देखि आविस्कार केन्द्रको भौतिक काम सुरु गरे ।

केहि समय आर्थिक अभावले आविस्कार केन्द्र बनाउन नसकिने भन्दै आफुले प्राप्त गरेका अमूल्य पदक लिलामीमा समेत राखे । नेपाली युवालाई नयाँनयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यकाले आर्थिक जोडतोडका लागि कठोर संघर्ष पनि गरे ।

यहि संघर्ष र विभिन्न दाताहरुको आर्थिक तथा सामाजिक सहयोगले शुक्रबार त्रिभुवन विश्वबिद्यालयको परिसर भित्र उनले राष्ट्रिय आविस्कार केन्द्र भवनको उद्घाटन गराउन सफल भए । करिब ६ हजार स्क्वायर फिटमा एक ठूलो भवन बनेको छ । जहाँ नविनतम आविस्कारसँग रम्ने र केहि आइडिया भएका युवाहरु जानेछन् र नयाँ प्रबिधिसँग खेलेर आफु र देश आर्थिक समृद्धिका लागि केहि योगदान गर्नेछन् । हाल आविस्कार केन्द्रमा ४८ जनाले विभिन्न क्षेत्र र प्रविधिसँग सम्बन्धित कामहरु गरिरहेका छन् ।

अाठ करोडको लागतमा आविस्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो । त्रिभुवन विश्वबिद्यालयका उपकुलपति सुधा त्रिपाठी, पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाह, डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से लगायतको उपस्थितीमा भवनको औपचारिक उद्घाटन भएको हो ।

सामाजिक अभियान्ता डा. पुनले आविष्कार केन्द्र निर्माण र सामानहरुको खरिदमा करिब अाठ करोड रुपैयाँ खर्च भएको बताए । शुरुमा आर्थिक जोहो गर्न धेरै गाह्रो भएपनि विस्तार सहयोगी हातहरु पनि बढ्दै गएको उनले बताए ।

केन्द्रको स्थापनाकै लागि विदेशी नागरिकहरुले पनि सहयोग गरेका छन् । डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से, डेविड कोवासले पनि केन्द्रलाई आर्थिक सहयोग गरेको उनले बताए । आविस्कार केन्द्रका लागि आम विदेशी नेपाली संघ (म्यान्गो)ले पनि ६ लाख ६३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

डा. पुनले एनआइसी नेपाल गैर नाफामुलक कम्पनी भएकोले आविस्कारसँग सरोकार राख्ने र केहि सीप तथा आइडिया भएकाहरुले आएर काम गर्न सक्ने बताए । उनले अनुसन्धान र नविनताको संस्कृति विकास गर्नु, प्रतिभाशाली र रचनात्मक व्यक्तिलाई विदेश जानबाट रोक्नु र उनीहरुको प्रतिभालाई आर्थिक विकासको लागि प्रयोग गर्नु केन्द्रको मुख्य उद्देश्य भएको बताए ।

भवन उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयकी उपकुलपति त्रिपाठीले आविस्कार केन्द्रको स्थापनाले नेपाली विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने बताइन् । उनीहरुको प्रतिभालाई उत्प्रेरित गरेर विदेश जानबाट रोक्न केन्द्रले भूमिका खेल्ने उनले बताइन् । पुर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले पनि बालबच्चाहरुको र प्रविधीसँग रम्न खोज्नेहरुको साथसाथै देशका आर्थिक विकासका लागि पनि टेवा पुग्ने बताए ।

गुन्द्रुक पकाउनेदेखि गाडी बनाउने काम गरिँदै

हाल आविष्कार केन्द्रमा विभिन्न प्रविधिहरुको सहायताले विविध मेसिनहरु निर्माण भइरहेका छन् । ती विभिन्न कामका लागि ४८ जना विद्यार्थी खटिएको पुनले बताए । केहि आइडिया भएकाहरुले केन्द्रमा आएर काम सिक्न सक्ने उनले बताए ।

उनीहरुको सपोर्टका लागि सम्पूर्ण सामाग्रीहरु उपलब्धता गराउने, उनीहरुको पकेट खर्च पनि केन्द्रले दिने उनले बताए । ‘पढेकाहरुसँग मात्र केहि आइडिया हुन्छ भन्ने आम मानिसहरुको मानसिकता हुन्छ’ उनले भने-‘नपढेकाहरुसँग पनि केहि आइडिया छ भने हामी उनीहरुलाई सहयोग गर्न तयार छौं, त्यो काम सफल होस् वा नहोस् ।’

काम सफल भएपछि व्यवसायिक रुपमा लागेर स्वयम् व्यक्ति र देशका लागि टेवा पुग्नु पर्ने उनले बताए । हाल केन्द्रमा २० प्रोडक्टका कामहरु भइरहेका छन् । सुर्यको तापबाट पानी तताउने मेशिन, तरकारी नकुहिने मेसिन, बेबी वारमर, इलेक्ट्रीक मेडिकल सिस्टम, मेडिकल ड्रोन, होमस्टे बुकिङ सिस्टम, मोटर एण्ड ब्याट्री डेभलप मेसनहरु बनिरहेको पुनले बताए ।

यस्तै बाँदर तर्साउने मेसिन, अगरबत्ती बनाउने मेसिन, सेलरोटी, गुन्द्रुक बनाउने मेसिन र अनलाइन टिकट बुकिङ सिस्टम पनि भयरहेको उनले बताए । केन्द्रमा आविस्कारका लागि लागेका विद्यार्थीहरुले प्लास्टिक बोतल रिसाक्लिङ सिस्टम, क्लोथ वासिङ मेसिन पनि बनिरहेका बताए । हाल केन्द्रमा सातवटा प्रडक्टहरु विक्रि वितरणका लागि तयार भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.