सुन्दर पर्यटकीय स्थल इलामको कन्यामः प्रदुषण हटाउँदा अझै बन्नेछ आकर्षण

  २०७६ कार्तिक १ गते १६:०३     राजाराम न्यौपाने

काठमाडौं । रमणीय र प्राकृतिक सौन्दर्यताको भरिपूर्ण उपहारको रुपमा कन्यामलाई लिने गरिएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा भएकोले पनि सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर उत्तरतर्फ लागेपछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम ।

इलामको उकालो सुरु हुन साथ प्राकृतिक सुन्दरताको हराभराले मन आनन्दित बनाउन सुरु गर्छ, जब जो कोही कन्याम पुग्छ, त्यहाँको दृश्यसँग मान्छे आफै‌ँ हराउँछन् । यातायातको सहज पहुँचमा रहेकाले सजिलै कन्याममा आवतजावत गर्न सकिन्छ ।

पहिले हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले वर्ष भरिनै पर्यटकहरुले खचाखच हुने गरेको छ । बिदा मनाउन, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका लागि आन्तरिक र वाह्य पर्यटकहरु कन्याम पुग्ने गरेका छन् ।

ताप्लेजुङ जिल्लाको पाथिभरा देवीको मन्दिर दर्शन गर्न जाँदा र फर्किदा बाटैमा पर्ने कन्याम सबैको रोजाइमा पर्ने गरेको छ । अरुदिनमा भन्दा बिदाको दिनहरुमा पर्यटकहरुको भीड हुने गरेको छ । वर्ष भरिनै चिसोे हावापानी, डाँडै ढाक्ने चिया बगान, देउराली डाँडा, विभिन्न जातीको परम्परागत सांस्कृतिक आकर्षणहरु हुन् । कन्याममा घोडाले पनि पर्यटकहरुलाई आकर्षित गरेको छ ।

कन्याममो चिया बगानमा फोटो नखिच्ने र घोडा नचढ्ने पर्यटकहरु सायदै होलान् । पर्यटकले त्यहाँको कोसेली स्वरुप चिया, छुर्पी, ललिपप र अकवरे खुर्सानी जस्ता वस्तु खरिद गरेर ल्याउने गरेका छन् । कन्याममा चिया र छुर्पी व्यापार गरिरहेकी ४० वर्षीय मुना श्रेष्ठले पर्यटकको रोजाइमा इलामको कोशेली परेकोले ब्यापार वृद्धि हुदै गएको बताइन् ।

कन्यामको सुन्दरतामा भुल्नेहरु धेरै छन्, तर त्यहाँ समस्या र चुनौतीहरु भने नभएको हैन । पर्यटकीय गन्तव्य भएपनि भौतिक पूर्वाधारहरुको अभाव छ । मौसम बदलि भैरहने पर्यटकीय कन्याममा घुम्दाघुम्दै पानी पर्यो भने कतै टाउको लुकाउने ठाँउ छैन । सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवतजावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ ।

यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ र सम्बन्धित निकायले ध्यान नदिएको देख्न सकिन्छ । सुन्दर कन्यामको चिया बगानको बीचबीचमा रक्सी, पानी र चिप्सको पाकेट लगाएतका फोहरले कन्यामलाई गिज्याइ रहेको देखिन्छ । पार्किङको सुविधा नहुनु कन्यामको अर्को समस्या हो । यस्ता समस्याहरु माथि नगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायको ध्यान दिन सकेको छैन ।

कन्यामको अस्तव्यस्तताका बारेमा सूर्योदय नगरपालिका मेयर रणबहादुर राईले कन्याम क्षेत्रमा फोहोर नभएको र शनिवार सरसफाइ नहुने र आइतवार मात्रै हुने भएकाले पनि आइतबार केही फोहर जस्तो देखिएको हुनसक्ने बताए । उनले भने-‘हामीले २५ जना कर्मचारीलाई सरसफाइमा खटाएका छौँ । हामीले सकेसम्म सफा राख्ने प्रयास गरेका छौँ ।’

सूर्योदय नगरपानिकाको वडानम्वर ७ का अध्यक्ष लेखनाथ खड्काले कन्यामलाई सुधार गर्दै आएको र सरसफाइलाई पनि सुधार्ने प्रयास भइरहेको बताए । उनले भने-‘हामीले हाम्रो पर्यटकीय क्षेत्रको संरक्षण गर्नै पर्छ, हामी त्यसमा लागिरहेका छौँ । बिस्तारै कन्याम अझै आकर्षण बनाउँदै जान्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.