विरासत गुमाउँदै राष्ट्रिय वाणिज्य बैंक: ऋणको ब्याजदर आकाशियो, साउनमा लिएको ऋण नै १.३९% महँगाे

  २०७६ कार्तिक १ गते १४:०३     विकासन्युज

काठमाडौं । सबैभन्दा सस्तो ब्याजमा ऋण पाउने बैंक कुन हो भनेर सोध्ने हो भने सबैको उत्तर आउँछ राष्ट्रिय वाणिज्य बैंक । अरु बैंकले १५/१६ प्रतिशतसम्म ब्याज लिने दर सार्वजनिक गर्दा ६/७ प्रतिशतमा ऋण दिने बैंक हो राष्ट्रिय वाणिज्य बैंक । अझै सरकारले ल्याएको सहुलियतपूर्ण कर्र्जामा दिइने ब्याज अनुदान घटाउँदा त ब्याजदर ‘निशुल्कजस्तै’ हुन्थ्यो । तर अब यो अवस्था रहेन ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले समेत महिनै पिच्छे आधार दर (बेस रेट) बढ्दा आम ऋणीकाे ब्याजको भार थोपरिएको छ । साउनमा ऋण लिएका ऋणीले अब ब्याजतिर्दा १.३९ प्रतिशत बढी ब्याज तिर्नुपर्ने भएको छ । बैंकले असार महिनाको ५.५० प्रतिशत आधार दर कायम गरेको सूचना प्रकाशित गरेको थियो । बैंकले कार्तिक १ गते प्रकाशित गरेको भदौको आधार दर बढाएर ६.८९ प्रतिशत पुर्याएको छ ।

बैंकले असारको सो आधार दरमा ०.७३ प्रतिशतले बढाएर साउनको बेस रेट ६.२३ प्रतिशत पुर्यायो । भदौ फेरि बेस रेट बढ्यो । भदौमै ऋण लिएका ऋणीले समेत कार्तिक महिनाको ऋणको ब्याजतिर्दा ०.६६ ले बढी तिर्नुपर्ने भएको छ ।

पूर्ण सरकारी स्वामित्वमा संचालित बैंकले यसरी महिनैपिच्छे आधार दर परिवर्तन गरेपछि निजी बैंकबाट ऋण लिने ऋणीको हालत के होला यो सहजै अनुमान गर्न सकिन्छ । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था अनुसार बैंकहरूले त्रैमासपछिमात्रै आधार ब्याजदर समायोजन गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरूले महिनै पिच्छे आधार दर प्रकाशित गरेपनि आधार दर बढेमा त्रैमासपछिमात्रै कार्यान्वयनमा लैजान पाउने राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियम विभागका प्रमुख देवकुमार ढकालले बताए । हरेक महिना घटेको आधारदर मात्रै ब्याजमा समायोजन गर्न पाइन्छ,’ उनले भने ‘ बढेको दर कायम गर्न भने त्रैमास नै सकिनु पर्छ ।’

असारमा हायर पर्चेज ऋणको ९.५० प्रतिशतदेखि १०.५० प्रतिशत ब्याज तिर्दै आएका ऋणीले असोजमा सो १२.३९ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने भएको छ । बैंकले भदौको आधार दर बढेकोले ब्याजको भार थपिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बचतको ब्याज बढाएकोले यसको असर बेस रेटमा परेको बताए । बैंकले यस अघि बचतकर्तालाई दुईदेखि चार प्रतिशतमात्रै ब्याज दिँदै आएको थियो,’ उनले भने ‘अहिले बचतको ब्याज बढेर ६ प्रतिशत पुगेको छ ।’ ‘अब साउनमा ऋण लिएका ऋणीले ऋणको ब्याजतिर्दा अहिले बढेको वेसको आधारमा ब्याजतिर्नुपर्ने हुन्छ,’ उनले भने ।

राष्ट्र बैैंकको यो नियम विपरित बैंकले सार्वजनिक गरेको यो नयाँ रेटले सरकारी बैंकमाथि विश्वास राखेर ऋण दिने ऋणीलाई मर्कामा परेको छ । यस अघि निजी क्षेत्रबाट संचालिन अन्य वाणिज्य बैंकले ऋणको ब्याज बढेको र निक्षेपको ब्याज घटेको जानकारी महिनै पिच्छे एसएमएसबाट दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.