बैंकलाई बीमा गर्न नदिँदा बीमा बजारमा ‘सन्नाटा’, जीवन बीमा कम्पनी बढी प्रभावित

  २०७६ कार्तिक १ गते ९:२६     विकासन्युज

काठमाडौं । बैंकलाई बीमाको संस्थागत अभिकर्ताको रुपमा काम गर्न नदिने नेपाल राष्ट्र बैंकको नीतिको असर बीमा बजारमा देखिन थालेको छ । मौद्रिक नीतिमार्फत् आएको राष्ट्र बैंकको यो नीति कार्यान्वयनको ३ महिना पुग्नै लाग्दा यसले बीमा बजारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर देखिन थालेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएसँगै त्रैमासिक रिपोर्ट बनाउने तयारीमा रहेका बीमा कम्पनीहरुले त्यसको संख्यात्मक तथा गुणात्मक समीक्षा गर्न थालेका छन् । बैंक र बीमा कम्पनीहरुबीच बैंकास्योरेन्सको नाममा सम्झौता भई कार्यान्वयन हुँदै आएको यस्तो कारोबारमा रोक लागेसँगै बीमकहरुलाई त्यसको असर कसरी घटाउने भन्ने चिन्ताले सताउन समेत थालेको छ ।

के थियो मौद्रिक नीतिमा ?

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा राखिने सम्पत्तिको बीमा गर्न ऋणीले बीमा कम्पनी छनोट गर्न पाउने र ऋणसँग सम्बन्धित बीमाबाहेक अन्य बीमा पोलिसी बैंकले बेच्न नपाउने व्यवस्था गरिएको छ । ‘बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनैपनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ । मौद्रिक नीतिको यही व्यवस्थाबमोजिम राष्ट्र बैंकले बैंकहरुलाई आवश्यक सर्कुलर समेत पठाइसकेको छ ।

मौद्रिक नीतिमा उल्लेख गरिएको ‘ऋणसँग सम्बन्धित बीमा’ भन्ने वाक्यांशले निक्षेप तथा कर्जा सुरक्षण कोषमा गर्ने ऋणको अनिवार्य बीमालाई बुझाउँछ । त्यसैले त्यो व्यवस्थाले अन्य प्रकारको बीमामा रोक नै लगाएको छ । अर्कोतर्फ बैंकबाट ऋण लिने ऋणीले आफ्नो सम्पत्तिको बीमा गर्दा बीमा कम्पनी आफैंले छनोट गर्न पाउने भएपछि बैंक र बीमा कम्पनीबीच हुनसक्ने अप्रत्यक्ष सहमतिको सम्भावनालाई समेत यसले अन्त्य गरिदिएको छ ।

बीमा कम्पनीहरुलाई तीनथरी प्रभाव

बैंकास्योरेन्समा रोक लगाएसँगै बीमा कम्पनीहरुलाई खासगरी तीनओटा असर परेको बीमकहरु बताउँछन् । यसले एकातर्फ बीमा क्षेत्रको व्यापारमा प्रत्यक्ष असर पारेको छ भने अर्कोतर्फ बैंकमार्फत् विस्तार भएको बीमाको पहुँचलाई रोकिदिएको छ । त्यस्तै, बैंक र अन्य संस्थागत अभिकर्ता तथा बैंक र अन्य व्यक्तिगत अभिकर्ताबीच देखिने प्रतिस्पर्धात्मक वातावरणलाई समेत यसले प्रभाव पारेको तर्क बीमकहरुको छ । यी तीनओटै प्रभावलाई कम आँक्न नमिल्ने समेत उनीहरु बताउँछन् ।

बैंकास्योरेन्स बन्द हुँदा बीमाको बजार कति घट्यो भन्ने सम्बन्धमा बीमकहरुको एकमत छैन । कसैले यसले खासै असर नगरेको बताउँदा कसैले बजार नै डामाडोल हुँदै गरेको प्रतिक्रिया समेत अप्रत्यक्ष रुपले दिन थालेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवानाथ पाण्डेले बैंकलाई संस्थागत अभिकर्ता बन्न रोक लगाएपछि बीमा व्यवसाय घट्ने कुरामा शंकै नभएको बताए । त्यसलाई कसरी सामना गर्ने विषय अहिले महत्वपूर्ण भएको उनी बताउँछन् । ‘संस्थागत अभिकर्तामा रोक लगाएपछि व्यवसाय घट्नु स्वभाविक नै हो तर हामीले त्यसको वैकल्पिक व्यवस्था गरेर कसरी बजार बढाउने भन्ने तर्फ ध्यान दिनु आवश्यक छ’ उनले भने ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री भने निर्जीवन बीमा बजारमा यो व्यवस्थाले खासै ठूलो असर नगरेको बताउँछन् । जीवन बीमा कम्पनीहरुलाई भने यसले केही असर गरेको हुनसक्ने उनको अनुमान छ ।

राष्ट्र बैंकले त्यस्तो रोक लगाएपछि अहिले बीमा समिति पनि वैकल्पिक उपायहरुको खोजी गरिरहेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल त्यस्तो नीतिबाट पर्ने प्रत्यक्ष र अप्रत्यक्ष असरलाई हटाउँदै बीमा बजारलाई थप विस्तार गर्दै लैजानेतर्फ विभिन्न विकल्पबारे छलफल भइरहेको बताए । उनले स्थानीय सरकारहरुसँग स्थानीय तहसम्म बीमा पहुँच पुर्याउन के कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गर्दै आएको समेत बताए ।

गत असार मसान्तसम्म संस्थागत अभिकर्ता मार्फत् हुने बीमाको कुल बजारहिस्सा ३ प्रतिशत मात्रै छ यद्यपि यो हिस्सा पछिल्लो एक वर्षभित्रै कायम भएको हो । एक वर्षकै दौरानमा यति ठूलो बजारहिस्सा कायम गर्न सफल भएको बजार बन्द भएकोले यो क्षेत्रमा एक प्रकारले सन्नाटा नै छाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.