अर्को अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा सरकार, राष्ट्रसंघसहित ८० देशका ११ सय प्रतिनिधि आउने

  २०७६ असोज ३० गते १५:२८     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागत र विदासँगै नेपालले अर्को सम्मेलनको तयारी थालेको छ । नेपालले राष्ट्रसंघीय अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्ट (सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि तयारी थालेको हो ।

मानव र पृथ्वीलाई सँगै पोषित गर्दै भन्ने नारा बोकेको यो अभियानको विश्वव्यापी सम्मेलन नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा यही कात्तिक १८ गते देखि २१ गतेसम्म (नोभेम्बर ४–७) काठमाडौंको होटल याक एण्ड यतिमा सञ्चालन हुने राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा बताइन् ।

सम्मेलनमा पोषण सम्बन्धि विभिन्न देशका विज्ञबाट २५ वटा कार्यशाला गोष्ठी हुनेछ । ८० देशका प्रतिनिधिहरूको सहभागिता रह्ने उक्त सम्मेलनमा ६१ वटा वुथ बनाएर पोषण सम्बन्धि कार्यक्रम बनाउने तयारी नेपालले गरेको छ । ग्लोबल रुपमा पोषणलाई कभरेज गर्न अबका दिनमा चालिने कदमका विषयमा गहन छलफल हुने डा. झाले बताइन् ।
सन् मुभमेन्ट अभियानमा ६१ देशका सदस्य रहेका छन् । सो कार्यक्रम गर्न राष्ट्रिय योजना आयोगले गत फ्रेबु्रअरीमा ग्लोबल टेण्डर हालेको थियो । यसमा नेपाल छनोट भएको हो ।

कार्यक्रममा युनिसेफकी कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघका प्रतिनिधि, सन मुभमेन्टकी कार्यक्रम संयोजक तथा विभिन्न देशका सरकार प्रमुखहरु समेत गरी १ हजार देखि  ११ सय सहभागी रहने बताइएको छ । जसमा कुपोषण अन्त्यका लागि विश्वभरि भइरहेका प्रभावकारी प्रयासहरुबारे छलफल हुने बताइएको छ ।

आगामी वर्षको डिसेम्बरमा जापानको टोकियोमा ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ आयोजना हुँदैछ । सो सम्मेलनलाई दृष्टिगत गर्दै छलफल हुने समेत बताइएको छ ।

पछिल्ला वर्षहरुमा नेपालले गैर आयगत विकासको क्षेत्रमा उल्लेख्य सुधार गर्दै आएका छन् । यस्तो क्षेत्र अन्तर्गत सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइको विकास, निरक्षरता उन्मुलन, कुपोषणको अन्त्य, सामाजिक समता तथा न्याय जस्ता पक्षरु पर्दछन् । आयगत क्षेत्रहरुको विकासमा भने नेपालले सोचेअनुरुप प्रगति हासिल गर्न सकेको छैन ।

बुधबारमात्रै प्रकाशित तथ्यांकले भोकमरी निवारणमा उल्लेख्य सफलता हासिल गरेको देखाएको छ । उक्त इन्डेक्समा नेपाल ७३ औं स्थानमा रहँदा दक्षिण एशियामा श्रीलंकापछिको दोस्रो कम कुपोषणयुक्त मुलुक बन्न सफल भएको हो । विश्वका ११७ देशमा भएको सर्भेक्षणमा श्रीलंका ६६ औं स्थानमा रहँदा बंगलादेश ८८ औं र भारत १०२ औं स्थानमा रहेको रिपोर्टले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.