सरकारले ३ महिनामा खर्च गर्यो पौने दुई खर्ब, पूँजीगत खर्च १८ अर्बमात्र

  २०७६ असोज ३० गते १२:२८     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एक खर्ब ७४ अर्ब ९२ करोड खर्च गरेको छ । सो खर्च कूल बजेटको ११.४१ प्रतिशत हो । सरकारले चालु आवको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएको छ ।

साउनदेखि असोजसम्मको यो अवधिमा सरकारले एक खर्ब ५४ अर्ब चालु खर्च गरेको छ । हालसम्म भएको खर्च चालु आवको लागि विनियोजित चालु बजेटको १६.१७ प्रतिशत हो । चालु आवको लागि सरकारले नौ खर्ब ५७ अर्ब १० करोड खर्च विनियोजन गरेको छ ।

तीन महिनाको यो अवधिमा सरकारले विनियोजित पूँजीगत खर्चको ४.३८ प्रतिशत अर्थात १७ अर्ब ९७ करोड रुपैयाँमात्र खर्च गरेको छ । सरकारले यस आवको लागि चार खर्ब आठ अर्ब पूँजीगत खर्च विनियोजन गरेको छ । भदौ महिनासम्म ५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो । असोज महिनामा सो खर्च बढेर पौने १३ अर्बभन्दा बढेको छ । यहि अनुपातमा खर्च हुँदै जाने हो भने सरकारले चालु आवको लागि विनियोजन गरेको पूँजी खर्च गर्न सक्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

यस आवको यो अवधिमा सरकारले गरेको खर्चभन्दा राजस्व संकलन बढी देखिएको छ । सरकारले ३ महिनाको यो अवधिमा एक खर्ब ८२ अर्ब ७० करोड राजस्व संकलन गरेको छ । संकलित राजस्व कूल राजस्व लक्ष्यको १६.४३ प्रतिशत हो । चालु आवको लागि सरकारले ११ खर्ब १२ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । भदौ महिनासम्म सरकारले एक खर्ब ३३ अर्ब राजस्व संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.