सीडीएससीले गल्ती सच्यायो : कारोबार रोक्का भएका स्क्रिपहरुको ‘सही मूल्य’ देखिन थाल्यो

  २०७६ असोज ३० गते ९:४२     विकासन्युज

काठमाडौं । मर्जर, एक्जिजिसन वा अन्य कुनै कारणले अल्पकालिन रुपमा दोस्रो बजारमा कारोबार रोक्का भएका शेयर स्क्रिपहरुको मूल्य १०० रुपैंया कायम गरेर देखाउने कदमलाई सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘सच्याएको’ छ । कारोबार रोक्का भएका शेयरको दोस्रो बजारमा अन्तिम कारोबार जतिसुकै मूल्यमा भए पनि १०० रुपैंया बराबर कायम गर्दा मर्जरको क्रममा कारोबार रोक्का भएका ग्लोबल आईएमई बैंक, जनता बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक जस्ता दर्जनौं सूचीकृत कम्पनीको अन्तिम काराेबार मूल्य र अघिल्लाे अन्तिम मूल्य सीडीएससीको मेरो शेयर एप्लिकेशनमा १०० रुपैंया देखिएको थियो ।

बुधबारदेखि भने नेप्सेको तथ्यांकअनुसार नै अन्तिम मूल्य देखिन थालेको छ । मेराेशेयरमा देखिएकाे साे समस्याबारे विकासन्यूजले गरेकाे प्रश्नमा म‌ंगलबारमात्रै सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले यसअघि त्यस्ता कम्पनीको मूल्य १०० रुपैंया तोक्ने व्यवस्था म्यानुअल बमोजिम नै भएको जिकिर गरेका थिए ।

नेपालको एकमात्र सेन्ट्रल डिपोजिटरी प्रणालको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सूचीकृत कम्पनीका शेयरहरु व्यवस्थापन र कारोबार भएका शेयरहरुको राफसाफ गर्ने समेत काम गर्छ । सरकारी स्वामित्व भएको नेप्सेसहित शेयर बजारका अन्य सम्वद्ध पक्षहरुको लगानीमा रहेको र धितोपत्र बोर्डको कसिलो नियमनमा रहेको यो कम्पनीकै मूल्यांकनलाई अन्य प्रयोजनका लागि आधिकारिक मानिन्छ, यस्तो अवस्थामा सीडीएससीले नै यथार्थ मूल्य देखाउन छाडेपछि लागनीकर्ताहरु भने हतोत्साहित भएका थिए ।

सीडीएससीले ल्याएको मेरो शेयरको नयाँ भर्सनमा केही नयाँ सुविधाहरु भने थपिएका छन् । खासगरी भारित औसत लागत गणना लागि मेरो शेयरको एप्लिकेसनमार्फत् गर्नसक्ने व्यवस्था यसमा छ । मेरो शेयरमार्फत् डेबिट इन्स्ट्रक्सन स्लिप (इडीआईएस) बाट हुने शेयरको भुक्तानीमा सम्बन्धित शेयर स्क्रिपको भारित औसत मूल्यको ‘एप्रुभल’ अनलाइनबाटै दिन सकिन्छ । पहिले परीक्षणका लागि भनेर ल्याइएको एप्लिकेसनलाई अहिले परिमार्जित भर्सनमार्फत् कार्यान्वयनमा ल्याइएको छ ।

नयाँ भर्सनमा प्रत्येक स्क्रिपहरुकाे काराेबारकाे इतिहास हेर्न, डिम्याट खाताकाे सबैभन्दा बढी भ्यालु भएका स्क्रिपहरुकाे अन्तिम काराेबार दिनमा भएकाे घटबढ हेर्न मिल्ने विशेषाता पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.