पूर्व अर्थमन्त्री मधुकर शमशेरको ७८ वर्षको उमेरमा निधन

  २०७६ असोज ३० गते ९:३१     विकासन्युज


काठमाडौँ । पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको बुधबार निधन भएको छ । ७८ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राणाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

श्रीमति र २ छोरा रहेका राणा मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठन भएको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए ।

यता, नेपाल व्यवस्थापन संघले संस्थाका पूर्व सभापति, पूर्वअर्थमन्त्री, साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका संस्थापक, कुशल खेलाडी, उद्यमी तथा अर्थशास्त्री प्राध्यापक जबराको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

संघद्वारा आज प्रकाशित विज्ञप्तिमा दुःखको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँको निधनबाट शोक सन्तप्त परिवारजन र स्वजनहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

‘संघको नेतृत्वमा रहदा उहाँले थालनी गर्नुभएका कार्यहरु, उहाँको अग्रसरतामा बनाइएका नीति तथा कार्यक्रमहरु, उहाँले दिनुभएका सामयिक राय र परामर्शहरु हाम्रा लागि सदैव मार्ग निर्देशनका रुपमा रहनेछन् ।’–विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ-‘आफ्नो जीवनका ऊर्जाशील समय नेपालको शैक्षिक उन्नयन, आर्थिक विकास,व्यवस्थापकीय सुधार र उद्यमशीलता विकासमा समर्पित गर्नुभएका पूर्वसभापति राणाको योगदान सम्बन्धित क्षेत्रको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.