सानिमा बैंकको २१ प्रतिशत लाभांश पारित, बैठक भत्ता ५० प्रतिशत बढाएपछि सेयरधनीले गरे चर्को विरोध

  २०७६ असोज २९ गते १७:१८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब रुपैयाँ रहेको बैंकको चुक्तापुँजी बोनस पश्चात बढेर ८ अर्ब ८० करोड रुपैयाँ नाघेको छ ।

साथै, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । संचालक समितिको उक्त प्रस्तावलाई भने बैंकका सेयरधनीले चर्को विरोध गरेका थिए । बैठकको भत्ता ३० देखि ५० प्रतिशतसम्म बढाएपछि सेयरधनीले कार्यक्रममै विरोध गरेका हुन् ।

सभाले पारित गरे अनुसार बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ दिने भएको छ भने संचालकलाई १२ हजार रुपैयाँ दिने भएको छ । जुन रकम अघिल्लो वर्षको बैठकभन्दा अध्यक्षलाई ३० प्रतिशत र संचालकलाई ५० प्रतिशत बढी हो । गत आर्थिक वर्षमा बैंकले अध्यक्षलाई प्रतिबैठक १० हजार र संचालकलाई ८ हजार रुपैयाँ प्रदान गरेको थियो ।

“बैठक भक्ता १२ हजार हुनु धेरै होइन तर एकैचोटि ५० प्रतिशत बढाउनु धेरै हो ।” सभामा एक सेयरधनीले भने– “एकैचोटि ५० प्रतिशत बढाउनु भन्दा अहिले २० प्रतिशतको दर बढाएको भए हुन्थ्यो ।”

हाल बैंकको निक्षेप १२ अर्ब २८ करोड र कर्जा सापट ८३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ती १०९ अर्ब रुपैयाँ नाघेको छ । खुद ब्याज आम्दानी ४२० करोड र खुद नाफा २२५ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकको सञ्चालन मुनाफा ३२२ करोड रुपैयाँ र निष्कृय कर्जा ०.०८ प्रतिशत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.