एनआरएनहरुलाई व्यवसायी चन्द्र ढकालको आग्रह – सातै प्रदेशमा ‘चन्द्रागिरि’ बनाउनुस्

  २०७६ असोज २८ गते २०:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ढकालले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीनै तहका सरकारहरुबीच लगानी भित्र्याउन प्रतिस्पर्धा नै भएको भन्दै देशमा लगानीको वातावरणमा निकै ठूलो सुधार भएको समेत बताए ।

उनले चन्द्रागिरि पर्यटकीय क्षेत्रको आवश्यकता हरेक प्रदेशमा आवश्यक भएको भन्दै मुख्यमन्त्रीहरुले लगानी गर्न आग्रह गर्ने गरेको भन्दै ढकालले उनीहरुलाई त्यस्तो क्षेत्रमा लगानी गर्ने विकल्प समेत भएको बताए ।

ढकालले आफूसँग गैर आवासीय नेपालीहरुसँग मिलेर काम गरेको अनुभव समेत भएको भन्दै २७ मेगावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुईओटा प्रोजेक्टमा एनआरएनहरुको समेत लगानी भएको उल्ल्ेख गरे । ‘यी प्रोजेक्टहरु नेपाली उद्यमशीलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै छ’ उनले भने । यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै भन्दै ढकालले भने – ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।’

आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले अमेरिकामा पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा रहेको भन्दै कहिँपनि सोचेजस्तो नहुने भएकोले केही अवरोधहरुलाई व्यवसायीले सहज रुपमा ग्रहण गर्नुपर्ने समेत बताए ।

ढकालको विचारमा जलविद्युत, पर्यटन, कृषि लगायतमा क्षेत्रमा एनआरएनएहरुले लगानी गरेर राम्रो लाभ लिनसक्ने ठाउँ छ । ‘आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिन सक्छ’ उनको सुझाव थियो ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले पनि चन्द्रागिरि केवलकारबाट सफलता पाएका ढकालकै उदाहरण दिँदै केवलकार एनआरएनहरुको लगानीको अर्को नाफामूलक क्षेत्र भएको टिप्पणी गरे । ढकालप्रति इगिंत गर्दै अर्थमन्त्री खतिवडाले भने –‘केवलकारमा लगानी गरेर अनुहार हँसिलो बनाउने मान्छे यहीँ हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.