एनआरएनको विश्व सम्मेलन : भित्र विकासको ‘बाइनाकुलर’, बाहिर राजनीतिक गर्मी

  २०७६ असोज २८ गते १७:०७     विकासन्युज

काठमाडौं । मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा एउटा छुट्टै भीड थियो । सँधै सुनसानप्रायः देखिने होटल हायातको त्यति ठूलो स्पेसमा सवारीसाधन पार्किङ गर्ने ठाउँ समेत थिएन । नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त होटलको चउर र बाटोभरी मानिसको ओहोरदोहोर पनि उत्तिकै थियो, लाथ्यो त्यहाँ कुनै राजनीतिक दलको आमसभा हुँदैथियो । लाग्थो त्यहाँ कुनै ठूलो राजनीतिक दलको आमसभा हुँदैछ ।

नेपालीहरुको मानसपटलमासम्झनाको रुपमा रहेको राजनीतिक दलहरुको चुनावलाई बिर्साउनेगरी जम्मा भएको त्यो भीड वास्तवमा गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनको उद्घाटन सत्रको थियो । जसमा करिब ३ हजार सदस्यहरु प्रत्यक्ष रुपमा सहभागी रहेको अनुमान आयोजकको छ ।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको औपचारिक उद्घाटन गराएसँगै चुनावी प्रचार र खाना नास्ताको लागि सहभागीहरुको भीड लाग्दैगर्दा सम्मेलनको सभाहलमा निर्धारित कार्यक्रमअनुसार अर्को सेसन सुरु भइसकेको थियो जसको विषय थियो – ‘मोबिलाइजेसन अफ रिसोर्सेज फर इकोनोमिक ट्रान्सफरमेसन’ अर्थात् आर्थिक रुपान्तरणका लागि स्रोतको परिचालन ।

सेसनमा कार्यपत्र प्रस्तुत गर्नेहरुको मुख्य चासो एनआरएनएहरुले नेपालको विकासमा सहभागिता कसरी जनाउने भन्ने सम्बन्धमा थियो । लामो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीसँगै देशको आर्थिक विकासको भोकलाई सम्बोधन गर्न गैर आवासीय नेपालीहरुले भूमिका कसरी खेल्न सकिन्छ भन्ने बहस भइरहँदा खालीजस्तै देखिने हलमा सहभागीहरु कार्यपत्र प्रस्तुत गरिरहेका थिए बाहिर भने प्रचारप्रसार गर्ने र ब्रोसर र भिजिटिङ कार्डहरु बाँड्नेको कमी थिएन ।

कार्यक्रममा सूरुमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पूर्व बैंकर तथा अर्थविद् अनलराज भट्टराईले वित्तीय स्रोतहरुको पहिचान र संकलनका सम्बन्धमा आफ्नो धारणा राख्दा डा. रामप्रसाद धितालले एनआरएनएको लागनीका लागि हाइड्रो क्षेत्र महत्वपूर्ण भएको भन्दै यसका लागि प्रोफेसनल ग्रुप र बिजिनेस ग्रुपबीचको सहकार्यमा उनले जोड दिए ।

त्यस्तै, सभाकै अर्का प्रस्तुतकर्ता राजेश सैंजुले नेपालको उर्जालाई हाइड्रो क्षेत्रमै सीमित गर्नुभन्दा इनर्जी मिक्समा जानुपर्नेमा जोड दिँदै सोलार, हावा र जलाशयमा आधारित उर्जाको क्षेत्रमा एनआरएनएहरुको लगानीका लागि आह्वान गरे ।

साइप्रसका एनआरएन रञ्जित महतोले एनआरएन शेयर बजारमा आउँन दिदैगर्दा आउनसक्ने जटिलताको सम्बन्धमा बोल्दै त्यस्तो लगानीको अतिवित्तीयकरण हुन नहुनेतर्फ जोड दिए ।

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले विश्वमै डायस्पोराहरु ज्ञान र प्रविधिको संवाहक हुने गरेको भन्दै नेपाली डायस्पोराहरुले अव नेपालको कायापलट गर्ने समय आएको बताए । उनले आफ्नो संलग्नतामा नेपालमा ११६ मेगावाटको आयोजना निर्माण गरेको भन्दे यो २ वर्षभित्र सकिने बताए ।

व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफूसँग एनआरएनसँग मिलेर काम गरेको अनुभव भएको काठमाडौंमा चन्द्रागिरि बनेजस्तै प्रत्येक प्रदेशमा चन्द्रागिरि बनाउन आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले एनआरएनको लागानीका ५ क्षेत्रहरु पहिचान गर्दैगर्दा फरक राजनीतिक आस्था बोकेका दुई अर्थविद्हरु रामशरण महत र अर्थमन्त्री युवराज खतिवडाबीच नेपाल सरकार, नेपाली जनताले गर्नुपर्ने र समग्र एनआरएनएले नेपालको विकासका लागि खेल्नुपर्ने भूमिकाबारे एकमत देखिएका थिए ।

पूर्व अर्थमन्त्री रामशरण महतले चीनको विकासमा चिनियाँ डायस्पोराहरुको भूमिकाको चर्चा गरिरहँदा र अर्थमन्त्री युवराज खतिवडाले विभिन्न क्षेत्रहरु पहिचान गर्दै लगानीका लागि आह्वान गर्दैगर्दा खालीजस्तै देखिएको सभाहल बाहिर भने ‘आई एम विथ कुल’ र ‘आई एम विथ कुमार’ लेखिएका पोष्टर र ब्यानरहरु बाँड्न व्यस्त देखिन्थे । त्यही एउटा समूह जसले भोलि तिनै विकासका आकांक्षाहरु पूरा गर्ने जिम्मेवारी पाउँछ, तर आज त्यसलाई सुन्नेसम्म फुर्सद छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.