सिंगारिएकाे सडक पखालिँदै, देखावटी विकासको नाङ्गो रुप धोवीखोला र विष्णुमति पदार्पण

  २०७६ असोज २८ गते १५:५५     सुनिता पुडासैनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सिंगारिएका राजधानीका सडक पखालिएका छन् । चोक चोकमा सजाईएको फूलका गमला हटाइएका छन् । दुसित खोलानाला छोप्न राखिएको आकर्षक फ्लेक्सहरु पनि हटाइएका छन् ।

भ्रमण सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङका फोटाहरु, उनीहरुको स्वागतमा राखिएको सजावटपूर्ण द्वारहरु, सडकका दुबै किनारमा राखिएका दुई देशका झण्डाहरु हटाउनु स्वाभाविक हो । तर सदाको लागि सुन्दरता दिने फुलका गमला, बगैँचा र कलात्मक फ्लेक्स पनि हटाइएका छन् । र, दुई दिनका लागि बनेको मोहिन क्षेत्रहरु पुनः कुरुप क्षेत्र बन्दैछन् ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि करोडौं खर्च गरेर बनाइएका नयाँ संरचनाहरु उनको विदाई सँगै भत्काईएकोमा आम नेपालीको मन दुःखेको छ । तिनकुनेमा भेटिएका एकजना स्थानियले सरकारले विदेशी भिआइपी नेपाल आउँदा जहिले पनि यसै गरी  सिँगार्ने गरेकाे तर पछि पुनः हालकै अवस्था जस्ताे हुने बताए । सरकारले समय-समयमा यति धेरै खर्च गर्नुभन्दा दिर्घकालिन रूपमा समाधान खाेजे रकम पनि कम लाग्ने बताए । सरकारको देखावटी विकासको नाङ्गो स्वरुप फेरी पनि धोवी खोला, विष्णुमति र बाग्मती पुलमा पुग्दा देखिन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरि सडक मर्मतका लागि सरकारले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयलाई सात करोड रुपैयाँको स्वीकृति दिएको थियो । त्यसमा मध्ये करिब चार करोड भन्दाबढी खर्च भएको कार्यालय प्रमुख राजेन्द्रराज शर्माले बताएका छन् । रातारात बनेको सडकमा प्वाल पर्न थालेका छन् भने फूटपाथमा धुलो उड्न थालेको छ ।

सडक राम्रो भएपनि हतारमा बनेको फूटपाथबाट धुलो उड्न थालेको कालिमाटी–सोल्टीमोड सडक खण्डका स्थानीयबासीको भनाई छ । ‘मेलम्ची खानेपानी परियोजनाले पाइप विछ्याउन सडक खनेपछि यो सडक बनेको थिएन । चिनियाँ राष्ट्रपति सोल्टी होटलमा बस्ने भएपछि यो सडक रातारात राम्रो बन्यो । हामीलाई धेरै राहात् भयो’ व्यवसायी किरण तुलाधरले भने–फुटपाथ भने राम्रोसँग बनेको छैन । अहिले नै भत्किसक्यो, फुङ्ग धुलो उड्छ ।’

राष्ट्रपति सी चिनफिङ फर्किए लगत्तै सडकका किनारामा र चोक चोकमा राखिएको फूलसहितको गमला काठमाडौं महानगर पालिकाले उठाएको छ । एयरपोर्ट, सिनामंगल, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड, सुन्धारा, लाजिम्पाट, शितल निवास क्षेत्रका चोक चोकमा राखिएका अधिकाशं गमला दुई दिनमा नै हटेका छन् ।

बिजुलीबजारमा धोविखोलाको पुलको दायाबाँयामा राखिएका सजावटयुक्त फ्लेक्सले सामाजिक संजाल पनि रंगाएको थियो । नेपालका चर्चित मन्दिर, गुम्बा, पर्यटकीय स्थलहरुको फोटो छापिएको रंगिङ फ्लेक्स ती क्षेत्रलाई सुन्धर मात्र बनाएको थिएन, धोवी खोला, विष्णुमति र बागमतीको कुरुपपन छोपेको थियो ।

सी चिनफिङ फर्किए लगत्तै आइतबार राती नै उक्त फ्लेक्स निकालिएका छन् र सरकारको देखावटी विकासको रुप उदाङ्गीएको छ । बास्तविक र धरातलीय अवस्थाको पर्दारपण भएको छ ।

त्यस्तै, महानगरपालिकाले चिनियाँ राष्ट्रपतिको भ्रमणको अवसरमा रातारात निर्माण गरेको तिनकुने पार्क सुक्न थालिसकेको छ । त्यसको संरक्षणको लागि महानगरले संरक्षकको खोजिगरिरहेको छ । पार्क संरक्षणका लागि नेपाल बैंक र वाणिज्य बैंकले चासो देखाएका छन् ।

फूलहरु झर्न थालेको र पातहरु सुकिरहेको उक्त पार्कमा महानगरले दैनिक ४ ट्याकर पानी हाल्दै आएको छ भने ७ जना सशस्त्र प्रहरीहरु उक्त पार्कको रेखदेखमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.