रुग्ण उद्योगबाट विद्युत् प्राधिकरण मुक्त, कुलेखानी तेस्राेसँगै प्राधिकरणकाे नयाँ युग सुरू

  २०७६ असोज २८ गते १५:५४     रमेश लम्साल

काठमाडौं । पूर्वाधार विकास वा हाइड्रोपावर निर्माणमा कुनै समस्या देखियो भने त्यसलाई ‘चमेलिया’ हुन लाग्यो भनिन्थ्यो । अर्थात् चमेलिया विकास निर्माणमा उब्जिएको समस्या र बेथितिको सबैभन्दा ठूलो उदाहरण थियो । तर कुलमान घिसिङको कुशल व्यवस्थापनले ६० मेगावाटको यो आयोजना र करिब करिब यस्तै हालत रहेको ६० मेगावाटको माथिल्लो त्रिशुली अब रुग्ण आयोजनाको रुपमा छैनन् । ती कम्पनीहरुले व्यवसायिक उत्पादन सुरु गरिसकेका छन् । । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राजनीतिक, कर्मचारी नेतृत्व र प्राधिकरणको नियमित अनुगमन तथा प्रयासले रुग्ण आयोजनाको रुपमा सूचीकृत कुलेखानी तेस्रो आयोजना सोमबार सम्पन्न भएको छ । याेसँगै अब नेपाल विद्युत प्राधिकरण रूग्ण आयोजनाबाट मुक्त भएकाे छ ।

एउटा आयोजना सम्पन्न गर्न सामान्यतया कति समय लाग्ला ? दुई, तीन वा पाँच वर्ष ? तर नेपाल विद्युुत् प्राधिकरणले निर्माण गरेको कुलेखानी तेस्रो आयोजनाले १२ वर्षमा पूर्णता पायाे । सन् २००८ मा शुरु भएको आयोजना सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा २०१९ काे पनि अन्तिम समयमा अाएर सकिएकाे हाे ।

मकवानपुरजस्तो सुगम र ‘क्यासकेड’ परियोजना सम्पन्न गर्न लामो समय लाग्नु नपर्ने थियो । निर्माण व्यवसायीको लापार्वाही त आयोजनाको कारक नै बनेको थियो भने प्राधिकरणको विगतको नेतृत्वले समेत ध्यान दिन सकेको थिएन । सोही कारण १४ मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न झण्डै उत्तिकै वर्ष लाग्न पुग्यो । आयोजना सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनरात मेहनत गरे। हरेक दिन आयोजनामा के भइरहेको छ, कुन काम चलिरहेको छ देखि निर्माण व्यवसायीको समस्या समाधानका लागि उनले गरेको प्रयास नै आयोजना सफलताको कारक बनेको छ ।

आयोजना तोकिएको समयमा नै पूरा हुनेमा कुनै शङ्का थिएन । चिनियाँ निर्माण व्यवसायी हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनले आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सबै उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए । मन्त्री पुनको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका प्राविधिक कर्मचारी परिचालन गरी आयोजनालाई गति दिए । जसका कारण १४ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ ।

कार्यकारी निर्देशक घिसिङले गत वैशाख २९ गते आयोजनाको निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका थिए । उनले भनेका थिए “अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सवस्टेशन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु ।”

प्राधिकरण र निर्माण व्यवसायीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाब र खानीखोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएको आयोजनाको शुरुआती लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको छ । प्राधिकरणले इन्द्रसरोवरमा जम्मा गरेको पानीबाट अब भने कूल १०६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नेपालको एकमात्र जलाशययुक्त सो आयोजनालाई ‘पावर बैंक’ को रुपमा लिइन्छ ।

यस वर्ष इन्द्रसरोवरको जलाधार क्षेत्रमा बढी वर्षा भएका कारण गत साउनको पहिलो साता नै जलाशय भरिएको थियो । जसका कारण प्राधिकरणले आयोजनाबाट नियमित विद्युत् उत्पादन गरी भारत निर्यात गरिरहेको छ । प्राधिकरणअनुसार कूल ४५ मेगावाट विद्युत् निरन्तर रुपमा विहार निर्यात भइरहेको छ ।

कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । स्थानीय भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका–१ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी लगिएको छ ।

रुग्ण आयोजना सम्पन्न गर्न प्राधिकरणको नेतृत्व नै आयोजनास्थलमा पटकपटक खटिएर समस्या समाधानका लागि सहजीकरण गरेका कारण रुग्ण भनिएका सबै आयोजना सम्पन्न भएका छन् । रुग्ण आयोजना सम्पन्न भएपछि नयाँ आयोजना शुरु गर्नका लागि प्राधिकरणलाई थप मार्ग प्रशस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.