एलआईसीले साढे ७ कराेडमा नागरिक लगानी कोषकाे सेयर लिलामीमा राख्याे, बिक्ने सम्भावना कम

  २०७६ असोज २८ गते १५:३९     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम १५०५ रुपैयाँ ताेकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो ।

कम्तिमा ७ कराेड ५२ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने उक्त सेयर अहिलेकाे मन्दीमा बिक्री हुने सम्भावना कम रहेकाे जानकारहरू बताउँछन् । सामाजिक सुरक्षा काेष सञ्चालन सँगै  नागरिक लगानी काेषकाे सेयर मूल्यमा लगातार गिरावट देखिएकाे र लिलामीमा राखिएको उक्त सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले याे सेयर बिक्री हुन कठिन हुने बताइएकाे छ ।

लगानी कोषको वार्षिक चार्ट

नागरिक लगानी काेषकाे सेयर गत माघ २ गते प्रतिकित्ता २८७४ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यसपछि निरन्तर घटेर गत साेमबार प्रतिकित्ता १७७१ रुपैयाँमा आइपुगेकाे छ ।

सामाजिक सुरक्षा कोष सञ्चालनमा आए लगत्तै त्यस्तै प्रकृतिको सेवा सञ्चालन गर्दै आएको नागरिक लगानी कोषको सेयर मूल्य निरन्तर घट्दै गएको छ ।

गत २०७५ मंसिर २७ गते नेप्से ११४८ अंकमा हुँदा लगानी कोषको सेयर मूल्य घटेर प्रतिकित्ता १५७७ रुपैयाँमा आएको थियो । प्राविधिक विश्लेषणका औजारहरूले नेप्से परिसूचक ८०० अंकसम्म झर्न सक्ने देखाएकाे छ ।   प्राविधिक विश्लेषणलाइ आधार मान्ने हो भने लगानी कोषको सेयर मूल्य प्रतिकित्ता १३४१रूपैयाँसम्म झर्न सक्छ ।

याे सेयर बैंक तथा बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले उनीहरूले यस्ता प्राविधिक विश्लेषणलाइ पनि आधार मानेर निर्णय लिन्छन् । संस्थागत लगानीकर्ताले सर्वसाधारण लगानीकर्ताहरु जस्तो अनुमानको भरमा लगानी गर्दैनन् ।

अर्काे महत्वपूर्ण तथ्य के हाे भने, एलआइसीले बेच्न लिलामीमा राखेकाे सेयर संस्थापक सेयर हाे । नागरिक लगानी काेषकाे बजारमा काराेबार भइरहेकाे सेयर साधारण सेयर हाे ।

सामान्यतय साधारण सेयरकाे मूल्य भन्दा संस्थापक सेयरकाे मूल्य कम हुन्छ, ३० देखि ५० प्रतिशतसम्म ।उदाहरणको लागि अहिले सिटिजन्स बैंकको साधारण सेयर मूल्य १९४ देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । केही  दिनअघि मात्र बैंकको संस्थापक सेयरको मूल्य १०३ रुपैयाँमा कारोबार भएको थियो । यसमा साधारण सेयरभन्दा संस्थापक सेयरको मूल्य करिब ४८ प्रतिशत कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.