२०२० मा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको साथ

  २०७६ असोज २८ गते १२:२०     विकासन्युज

काठमाडौं । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् ।

नेपालमा पाइला टेक्नुभन्दा एक दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका दुई ठूला दैनिक पत्रिकामा प्रकाशन गरेको आलेखमा भनेका छन्– लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । … दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।

नेपाल आएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले आयोजना गरेको रात्री भोजमा सहभागीलाई सम्बोधनको क्रममा पनि सी चिनफिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमणमो लागि प्रेरित गर्ने बताए ।

उनको लेखाई र भनाईले नेपालको पर्यटन क्षेत्रमा केही उत्साह थपेको छ । पछिल्ला वर्षहरुमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढेकोले पनि राष्ट्रपति सी चिनफिङको भनाई प्रति नेपाली पर्यटन व्यवसायी आश्वस्त भएका छन् ।

सन् २०१७ मा एक लाख चार हजार ६६४ चिनियाँ नागरिक नेपाल घुम्न आएका थिए । सन् २०१८ मा एक लाख ५४ हजार ६३३ जना चीनियाँ पर्यटकहरु नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।

समग्रमा विदेशी पर्यटकको आगमन सन् २०१७ को तुलनामा २०१८ मा करिव २५ प्रतिशतले वृद्धि भएको बेलामा चिनियाँ पर्यटकको वृद्धि दर झण्डै दोब्बर बढी छ ।

गत वर्ष विभिन्न देशहरुबाट ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा भने ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

पछिल्ला तीन वर्षमा भने चीनियाँ पर्यटकहरुको नेपाल आगमनमा निरन्तर बढेको नेपाल पर्यटन बोर्डका अनुसन्धान तथा योजना विभागका गोकुल भण्डारीले बताए । उनका अनुसार सन् २०१९ को जुनसम्म ८५ हजार ३०८ जना चिनियाँ पर्यटक नेपालमा आएका छन् ।

शक्तिशाली देशका शक्तिशाली व्यक्तित्वको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष २०२०लाई समेत उल्लेख्य टेवा पुग्ने नेपाल भ्रमण वर्षका संयोजक सुरज बैद्यको विश्वास छ ।

पछिल्लो समय चीनियाँ पर्यटकहरु नेपालमा बिदा मनाउन, हिमाल चढ्न वा पदयात्रा गर्न, तिर्थयात्रीका रुपमा, व्यापार व्यवसाय गर्न, लगायतका अन्य उदेश्यका साथ नेपाल आउने गरेको पर्यटन बोर्डले जनाएको छ ।

हाल नेपाल–चीन र चीन–नेपाल गरी हप्ताको साठी पटक हवाई जहाजहरु ओहोर दोहोर हुने गरेको छ । अब दुई देशबीचको उडान संख्या साताको ९८ बनाउने दुई देशबीच हवाई सम्झौता पनि यसै वर्ष भएको छ । नेपालले २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको भ्रमणले साथ दिएको छ ।

घट्दो आम्दानी

विदेशबाट नेपाल आउने पर्यटकहरुको संख्या वर्षेनी बढेपनि तिनीहरुले गर्ने खर्चमा भने झन्–झन् कम हुँदै गएको देखिएको छ । नेपाल पर्यटकको संख्यामा जसरी बृद्धि भइरहेको छ, त्यसैगरी उनीहरुले गर्ने खर्चमा भने बढेको छैन । बरु, त्यो बृद्धिदर घटेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षमा पर्यटकको आम्दानी बृद्धिदरमा कमी आएको छ । अघिल्लो वर्ष ४० प्रतिशतले बढेको आय गत वर्ष १४ प्रतिशतले मात्र बढेको छ ।

विश्वब्यापी रुपमा ट्राभल कस्ट कम हुँदै गएकोले पनि आयको बृद्धिदर पहिले जस्तै बढ्न नसक्नु एउटा कारण हो । छिमेकी मुलुकबाट आउनेहरुले आफ्नै देशमा भुक्तानी गरेर नेपालमा सेवा लिने प्रवृति बढेकोले आय अपेक्षित बढ्न नसकेको पाइएको हो ।  नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टले नेपालमा पर्यटकहरुले खर्च गर्ने प्रशस्त ठाउँहरु नभएका, उनीहरुको बसाई अवधि कम भएकोले पनि पर्यटक संख्या वृद्धि भए झै आए वृद्धि नभएको बताइन् ।

साथै, चिनियाँ पर्यटकहरुले नेपाल भ्रमण गर्दा नेपालीहरुलाई तुलनात्मक रुपमा कम लाभ भएको पनि नेपाली व्यवसायीहरुको अनुभव छ । उनीहरुले नेपाल भ्रमण गर्दा गरेको खर्च पनि वीच्याट र अलिपेबाट भुक्तानी गर्ने गरेकोले नेपाल विदेशी मुद्रा आर्जन गर्नमा चुकेको छ । तर नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा एक सूचना जारी गरी वीच्याट र अलिपे लगायत राष्ट्र बैंकबाट स्वीकृत नपाएको कुनै पनि कम्पनी वा एपबाट हुने कारोबारमा बन्देज लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.