पर्यटकहरुलाई सुरक्षा दिन सशक्त रुपमा अगाडि बढ्दै नेपाल प्रहरी

  २०७६ असोज २८ गते १२:०८     विकासन्युज

काठमाडौं । मुलुकभर पर्यटन वर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडि बढेको छ ।

पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनीतिहरु अहिले देखि नै शुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका बहादुर कार्कीले जानकारी दिएका छन् ।

यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ ।

पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा नै प्रहरी गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तव्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए ।

अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसंगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ ।

गस्तीसंगै डिएसपी टिका बहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मिटरउचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको थियो ।

त्यसैगरी, प्रहरी निरिक्षक सबिन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायब निरीक्षक रामबहादुर बानिया र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो ।

यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले बताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरु सबैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन ।

त्यसैले, उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले जानकारी दिए ।अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन ।

विगत वर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई व्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.