अधिकांशको रोजाईमा मुस्ताङ, ह्वात्तै बढ्यो आन्तरिक पर्यटकको आगमन

  २०७६ असोज २७ गते १३:४६     विकासन्युज

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महिनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् ।

पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिएका छन् । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् । “बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,”

तुलाचनले भने, “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।” केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए ।

पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।

पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् ।

थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवम् फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारी बताउँछन् ।

पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले जानकारी दिए ।

नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.