दशैंको दक्षिणा के गर्नुहुन्छ ? विज्ञहरू भन्छन् – ‘बीमा गर्नुस् फाइदै फाइदा छ’

  २०७६ असोज २६ गते १७:३७     विकासन्युज

काठमाडौ । दशैंमा टीका लगाएर दक्षिणा लिनु दिनु नेपालीहरुको संस्कार नै हो । सालैपिच्छे यस्तो दक्षिणाको रकम बढ्दै गएको पनि हामी पाउँछौं । टिका लगाएर सिक्का दिने चलनबाट नोट दिने प्रचलन आएकोे १५÷२० वर्ष मात्रै भएको छ, तर अहिले दक्षिणाको ‘रेट’ निकै माथि पुगिसक्यो । अझ ठूलो परिवार भएको ठाउँका छोरीचेलीहरुको त पैसाले झोला नै भरिने समेत गर्छ । तर हामी त्यसरी आएको पैसालाई कति सदुपयोग गरिरहेका छौं त ?

बीमा क्षेत्रका अभ्यासकर्ता र विज्ञहरु सांस्कृतिक पर्वहरु मनाउँदा हुने अनावश्यक खर्चहरुलाई व्यवस्थापन गरी भैपरी खर्चको स्रोत जुटाउनका अतिरिक्त जीवनका सम्भावित जोखिम न्यूनीकरणमा लगाउनुपर्ने सुझाव दिन्छन् । त्यसका लागि बीमा एउटा उपयुक्त माध्यम भएको समेत उनीहरुको तर्क छ । त्यस्तो रकम संरक्षणको लागि बीमा कम्पनीहरुले आवश्यक प्रोडक्ट ल्याइसकेको समेत उनीहरुको दाबी छ ।

बीमाविज्ञ भोजराज शर्मा दक्षिणा लिनेदिने प्रचलन बालबालिकादेखि वयस्क र वृद्धवृद्धाहरुसम्म रहेको भन्दै कम्तीमा पनि बालबालिकाहरुले जम्मा गर्ने पैसालाई बीमामा लगाउन सके यसले उनीहरुको भविष्यको शिक्षा र सुरक्षामा महत्वपूर्ण योगदान गर्ने र राम्रो प्रतिफल दिनसक्ने बताउँछन् । बालबालिकाहरुलाई अरु क्षेत्रमा लगानीको लागि पर्याप्त ज्ञान र नहुने र उपयुक्त रुपमा खर्च गर्ने ठाउँ पनि नहुने अवस्थामा बीमामार्फत् त्यस्तो परिचालन उनीहरुका लागि फाइदाजनक हुने उनको भनाई छ । बीमा कम्पनीहरुले अहिले ल्याएको बीमा पोलिसीबाटैे पनि त्यस्तो रकम सदुपयोग गर्नसक्ने भए पनि बीमा कम्पनीहरुले त्यसलाई नै फोकस गरेर नयाँ पोलिसी ल्याउन वा भएका पोलिसीहरुलाई त्यो कोणबाट प्रचार गर्नसक्ने समेत उनको सुझाव थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल अहिले आफूहरुले दैनिक ५ रुपैंया १० लाखसम्मको बीमा गर्ने पोलिसी ल्याएको भन्दै यस्तो पोलिसीलाई सदुपयोग गरेर बीमा गर्न सकिने धारणा राखे । अनावश्यक रुपमा खर्च हुने त्यस्तो रमकलाई बीमाको दायरामा ल्याउन सके यसले बीमाको पहुँच र आकार विस्तारमा महत्वपूर्ण योगदान गर्ने उनको भनाई थियो ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण भने दक्षिणमात्रै नभएर चाडबाडमा हुने अरु अनावश्यक खर्चहरु समेत चताएर खुत्रुकेमा बचत गर्ने र खुत्रुकेको बचतलाई बीमासँग जोड्ने परिपाटी बसाउनुपर्नेमा जोड दिन्छन् । ‘हामी पैसा हुँदा अनावश्यक रुपमा खर्च गर्ने तर कहिलकाहीँ पैसा नभएर चाहिएको काम पनि गर्न नसक्ने अवस्थामा हुन्छौं, त्यसलाई सदुपयोग गर्न सक्यौं भने मात्रै पनि जीवनमा अभाव आइपर्दैन, यसमा बालबालिका मात्रै होइन वयस्क व्यक्तिले पनि सोच्न आवश्यक छ, चाडवाडमा जुवातास खेल्ने, जाँडरक्सी खाने वा अरु अनावश्यक खर्च गर्ने प्रवृत्ति त्यागेर बीमा गरे कसैले पनि भविष्यमा अभावको सामना गर्नुपर्दैन’ कर्णले सुझाव दिए ।

त्यसो त चाडपर्वमा आएको पैसा निर्जीवन बीमाको क्षेत्रमा झनै उपयुक्त हुने तर्क समेत निर्जीवन बीमा क्षेत्रका विज्ञहरुको छ । १/२ हजार रुपैंयाको लोभमा आफ्नो सवारी साधन वा सम्पत्तिको बीमा नगर्ने तर क्षति भएपछि उठ्नै नसक्नेगरी डुबेका व्यक्तिको कमी नभएको भन्दै उनीहरु सबैभन्दा पहिले चाडबाडबाट संकलन हुने त्यस्तो बचतले आफू र आफ्नो सम्पत्तिको सुरक्षा गर्न उनीहरुको सुझाव छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चाडवाडलाई दक्षिणा र आशिर्वादबाट माथि उठेर समृद्धिसँग जोड्नुपर्ने भन्दै अनावश्यक खर्चको कटौती र बीमामा सहभागिता त्यसको एउटा आधार भएको बताउँछन् । निर्जीवन बीमाको शुल्क बीमांकभन्दा ज्यादै न्यून हुने भएकोले यस्तो अवसरहरुबाट प्राप्त हुने रकमलाई सम्भावित जोखिम हटाउने काममा लगाउन उनको सुझाव थियो ।

अहिले बीमा कम्पनीहरुले विभिन्न बीमा योजनाहरु सार्वजनिक गरेको भए पनि दशैं तिहारलक्षित योजना भने ल्याएको पाइँदैन । यद्यपि त्यस्तो योजना ल्याउनुपर्ने आवश्यकता भने बीमकहरुले समेत महशुस गरेका छन् । ‘बीमा जीवनको एउटा अभिन्न अंग हो भनेपछि यसलाई हामीले दैनिक जीवनसँग जोड्न सक्नुपर्छ । हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज र आर्थिक अवस्थाअनुकुल नयाँ योजनाहरु ल्याउनु हाम्रो दायित्व हो तर यसका हामी चुकिरहेको अवश्य हो’ अर्का एकजना बीमकले भने ।

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोट भने सुरुमा वालबालिकाहरुमा बीमासम्बन्धी शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै कम्तीमा पनि विद्यालय तहसम्म बीमा शिक्षा अनिवार्य गराउनुपर्ने तर्क गर्छन् । त्यसो हुन सके बालबालिकामा बीमासम्बन्धी ज्ञान बढ्ने र यसले बीमा क्षेत्रको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ ।

अहिले जीवनबीमा क्षेत्रमा गरिने लगानीले जोखिमका अतिरिक्त पनि औसत १० प्रतिशतसम्मको प्रतिफल दिँदै आएको छ । यो क्षेत्रमा गरिने लगानीले अनिवार्य बचतलाई प्रोत्साहन गर्नुका साथै बीमा अवधिअघि आवश्यकता पर्दा समेत बीमा पोलिसी धितोमा राखेर ऋण लिन पाउने सुविधा समेत दिन्छ, त्यसैले जोखिमरहित र उच्च प्रतिफलको लगानीका लागि बीमा क्षेत्र बीमा क्षेत्रका सरोकारवालाहरु बताउँछन् ।
निर्जीवन बीमाले भने जोखिम न्यूनीकरण गर्ने काम गर्छ । एकदमै न्यून शुल्कमा ठूलो बीमांक बराबर बीमा हुने भएकोले यसले ठूलो सम्भावित क्षतिबाट बचाउँछ । तपाइँहरु पनि आफ्नो बचतलाई सदुपयोग गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.