सभामुखपछि लगत्तै सांसद मोहम्मद आफताब आलम पक्राउ

  २०७६ असोज २६ गते १३:०४     विकासन्युज

काठमाडाैं । सभामुख कृष्णबहादुर महरा पक्राउ परेकाे एक साता नवित्दै प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।  उनी पूर्व मन्त्री समेत हुन् ।

सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए ।  विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

यसअघि याैनहिंसाकाे आराेपमा प्रतिनिधिसभाका सभामुख महरालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.