नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप

  २०७६ असोज २६ गते १३:०६     विकासन्युज

निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ ।

अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ ।

आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ ।

वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.