भारतदेखि प्रतिपक्षी दल र संसदलाई समेत फकाउँदै सी, ९० प्रतिशत सम्झाैता कार्यान्वयनमा

  २०७६ असोज २६ गते १२:१०     विकासन्युज

काठमाडौं । नरिवलको ताडीमा जुस पिउँदै भरतनाट्यमको मनोरञ्जन लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ६ घण्टासम्मको अनौपचारिक समिट सकेर २ दिने औपचारिक राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार बेलुकी ५ बजे काठमाडौं आइपुगे । जसरी भारतीय बाटो हुँदै नेपालको व्यापारिक सम्बन्ध चीनसँग हुँदै आएको छ, त्यसैगरी नेपालको कुटनीतिक सम्बन्धमा पनि भारतीय उपस्थितिको झल्को दिनेगरी काठमाडौं आएका उनको यो गतिविधिको भित्री आशय नेपाल–चीन कुटनीतिक सम्बन्धमा भारत नचिढियोस् भन्ने चाहेका हुनसक्छ । त्यसै भएर उनले नेपालको यो भ्रमणमा भारतलाई नचिढ्याउने नीति लिए । सी–मोदीले गरेको फोहोर मोदीले टिपेको चर्चा भारतमा सेलाउन नपाउँदै उनी नेपालबाट बाहिरिनेछन् ।

सी शनिबार बेलुकी मात्रै काठमाडौं आए पनि मिडियामार्फत् उनी बिहीबारदेखि नै छाउने प्रयास गरेका थिए । सरकारी मुखपत्रको रुपमा रहेको गोर्खापत्र लगायत मूलधारका मुख्य मिडियालाई विशेष आलेख उपलब्ध गराएर नेपाली मिडिया र जनतासम्म छाउने प्रयास सीको थियो । काठमाडौं ओर्लिएसँगै नेपाली सेनाबाट सलामी ग्रहण गरेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक रुपमा भेट गर्नुबाहेक पहिलोपटक प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता शेयबहादुर देउवा र संघीय संसदका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेटे ।

राजकीय भ्रमणहरुका सम्बन्धमा सामान्यतया प्रमुख प्रतिपक्षी दल वा संसदको कुनै भूमिका हुन्न । तर भ्रमणका क्रममा भएका सहमतिको स्वामित्व ती दुई पक्षले नलिएसम्म कार्यान्वयन हुने अवस्था समेत रहन्न । नेपालको शासकीय प्रणालीलाई बुझेका सीले यी दुई भेटबाट उनले आफ्नो उपस्थितिमा भएका सम्झौताहरु कार्यान्वयनमा प्रतिपक्षी दल र संसदको समेत भविष्यसम्मै साथ चाहिने ठान्दै उनीहरुलाई विश्वास दिलाउने पर्यत्न गरे ।

अहिले संसद अधिवेशन छैन । संसदको हिउँदे अधिवेशन सुरु भएपछि सीको भ्रमणका बारेमा संसदमा उठ्नसक्ने प्रश्न वा संसदले सहमतिहरुमा स्वामित्व ग्रहण नगर्न सक्ने अवस्थालाई सीको यस दुई भेटले अन्त्य गरिदिएको छ । उता प्रमुख प्रतिपक्षी दलका तर्फबाट भ्रमण र सहमतिका अन्तर वस्तुमा हुनसक्ने विमतिलाई कम गर्ने काम समेत उनले गरेका छन् ।

सोल्टी होटेलको रात्रीभोजमा नेपालका राष्ट्रपतिसँगै उनले पनि सम्बोधन गर्दैै नेपाल र चीनबीचको सम्बन्ध र हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटीमा जोड दिने बताए । सम्बोधनका क्रममा उनले नेपालले चीनको सहयोगमा निर्माण गर्न चाहेका सबैजसो आयोजनाहरुको नाम लिए जसले गर्दा नेपाल सरकार र नेपाली जनतामा समेत एउटा उत्साहको वातावरण सिर्जना हुन सफल भयो । यद्यपि महँगो लागत र प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिक महत्वको काठमाडौं–केरुङ रेलमार्ग निर्माणको मोडालिटीमा नगई सम्भाव्यता अध्ययन मात्रै गर्नेगरी सीले टार्ने प्रयास गरेका छन् ।

हुन त सम्भाव्यता अध्ययन नै नभएको परियोजनालाई त्यत्तिकै बनाइदिन्छु भनेर विश्वकै शक्तिशाली व्यक्तिबाट बोलिनु उपयुक्त नहुन पनि सक्छ तर नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा महत्व दिएर सम्बोधन गरेको विषयलाई सम्भाव्यता अध्ययनको नाममा टार्न खोज्नु चीनको प्राथमिकतामा यो योजना नपर्नु वा कम पर्नु हो । यसका बाबजुद पनि उनले त्यस्तो आभाष हुन दिएनन् ।

नेपाल भ्रमण गर्नुअघि नेपाल कम्युनिष्ट पार्टीमार्फत् उनले नेपालमा आफ्नो विचारधाराको प्रचार समेत गराउन सफल भए । स्पष्ठ बहुमतसहितको सत्तारुढ दलमै आफ्नो विचारधारालाई प्रशिक्षित गराउँदा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा छुट्टै तरंग सिर्जना समेत गर्यो । तर नेपालको भूराजनीतिक परिस्थितिमा उनको विचार लागु हुने सम्भावना निकै कम छ ।

नेपाल आएपछि पनि उनका गतिविधिले नेपाली जनतालाई थप उत्साहित बनाउन सफल भए । भारतीय प्रधानमन्त्रीले गरेको भाषणजस्तो शैली र लबजले नेपालीको मन जित्नसक्ने सुविधा सीमा छैन, किनकी उनले बोल्ने भाषा र नेपाली भाषामा निकै भिन्नता छ, त्यसका बाबजुद आफ्नो भ्रमणलाई सबैले स्वामित्व ग्रहण गर्नसक्ने बनाउनु उनको सफलता हो ।

सीले द्विदेशीय रुपमा जतिपनि सम्झौता भएका छन् ती सम्झौताहरुमध्ये ९० प्रतिशत सहमतिहरु कार्यान्वयनमा गइसकेको बताइन्छ । त्यसैले उनी हत्तपत्त कुनैपनि कुरा बोल्दैनन् तर बोलेका कुराहरु पूरा गर्नुपर्छ भन्नेमा दृढ छन् भन्ने सन्देश उनले विश्वलाई नै दिन सफल भएका छन् । त्यसो त सोल्टी होटेलमा गरेको सम्बोधनमा उनले नेपालीहरुलाई दिएको सन्देश पनि यही हो कि ‘आँटेको योजना जसरी पनि पूरा गर !’

सीकाे नेतृत्वमा रहेकाे चीनले ‘दुईवटा सयवर्षको लक्ष्य’ लिएको छ । यो लक्ष्यका बीचमा उनले एउटा अर्को लक्ष्यको घोषणा गरेका छन् – ‘हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटी’ । यसअन्तर्गत, सडक, विद्युत्, रेलमार्ग हवाई सञ्जालका अतिरिक्त सामाजिक र सांस्कृतिक सम्बन्धहरु समेत पर्छन् । विश्वलाई नेतृत्व गर्न चाहेको उनले सबै पक्षहरुलाई विश्वासमा दिँदै लिएको यो लक्ष्य भने कत्तिको सार्थक हुन्छ, यो भने समयले देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.