नेपालले साउदी विकास कोषबाट ३ अर्ब ३३ करोडको ऋण लिने

  २०७६ असोज २४ गते १२:२३     विकासन्युज

काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा उपाध्यक्ष अलखुदारीले साउदी अरेबियाको परममित्र नेपाललाई दुःख परेका बेला सघाउनु आफ्नो कर्तव्य भएको बताउँदै नेपाल सरकारको पुनः निर्माणको प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरेका छन् ।

साथै, उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यातक मुलुकहरुको सदस्यका रुपमा पनि साउदी अधिराज्यले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका गरे ।

सचिव खनालले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त राष्ट्रले जलविद्युत् र सिँचाइका क्षेत्रमा लगानी गर्दै आएको चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार प्रकट गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.