लेखापरीक्षण पछि बैंकको नाफामा १८% सम्म तलमाथि, बिओके र एनआईशीको सबैभन्दा बढी

२०७६ असोज २३ गते ११:४३ विकासन्युज

काठमाडौं । सूचीकृत कम्पनीको सेयर मूल्य उतारचढावमा विभिन्न पक्षले प्रभाव पारेकाे हुन्छ । माग र आपूर्तिकाे प्रभाव एवं कम्पनीको वित्तीय विवरणकाे प्रभाव मुख्य कारण हुन् भने व्यवस्थापकीय परिवर्तन, राजनीतिक परिवर्तन, अर्थतन्त्रमा देखिएकाे मुलभूत परिवर्तन लगायत अन्य धेरै कारण पनि हुन्छन्

आज सूचीकृत कम्पनीका सेयर मूल्य प्रतिकित्ता ५० रूपैयाँ देखि  २० हजार रुपैंयाँ भन्दा माथिसम्म किनबेच भइरहेकाे छ । वाणिज्य बैंकहरुकै कुरा गर्ने हो भने पनि मूल्यमा करिब ४ गुणासम्मको भिन्नता पाइन्छ, यी सबैका कारण वित्तीय अवस्थाको मूल्यांकन नै हो ।

साधारण शेयर निष्कासन गरेका सूचीकृत कम्पनीहरु ३/३ महिनामा आफ्नो वित्तीय विवरण प्रकाशन गर्नुपर्ने प्रावधान छ । त्यही रिपोर्टलाई नै हामी वित्तीय विश्लेषणको औजार मान्छौं । तर हामीले हेर्ने वित्तीय विवरण कत्तिको सही हुन्छ ? त्यो भने हामीले कतिपय अवस्थामा सोचिरहेका नै हुँदैनौं ।

हालसम्म ८ ओटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन प्रकाशन गरेका छन् । बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकले त्यस्तो वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कुमारी, सिटिजन्स र एनआईशी एशिया बैंकको भने साधारणसभाले उक्त लेखापरीक्षण प्रतिवेदन समेत पारित गरिसकेको छ ।

लेखापरीक्षणपछिको वित्तीय विवरण प्रकाशन गर्ने ८ ओटा कम्पनीमध्ये बैंक अफ काठमाण्डू र एनआईशी एशिया बैंकको वितरणयोग्य नाफामा ठूलो भिन्नता देखिएको छ । बैंक अफ काठमाडौंको त्यस्तो भिन्नता करिब १८ प्रतिशत देखिएको हो । लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा २ अर्ब ३१ करोड वितरणयोग्य नाफा देखाएको विओकेको लेखापरीक्षण गरिएको विवरणमा जम्मा १ अर्ब ८९ करोड रुपैंयामात्रै नाफा देखिएको छ, यो करिब १८ प्रतिशत कम हो ।

त्यस्तै, लेखापरिक्षण पूर्व ३ अर्ब ३५ करोड नाफा देखिएको एनआईशी एशिया बैंकको नाफा लेखापरीक्षण पछि ३ अर्ब २ करोडमा सीमित छ, यो करिब १० प्रतिशतको फरक हो । बाँकी ६ कम्पनीमध्ये ५ कम्पनीको नाफा लेखापरीक्षण नगरिएको विवरणको तुलनामा लेखापरीक्षणपछिको विवरणमा कमी आएको देखिँदा सानिमा बैंकको मात्रै नाफामा बढोत्तरी आएको देखिएको छ । सानिमा बैंकको लेखापरीक्षण गरिएको विवरणमा २ अर्ब २५ करोड ८१ लाख रुपैंया वितरणयोग्य नाफा देखिएको छ जुन सुरुको विवरणभन्दा १ करोड ४७ लाख रुपैंयाले बढी हो ।

बैंकहरुको लेखापरीक्षण गरिएको र नगरिएको विवरणमा अस्वाभाविक उतारचढाव देखिएपछि केही वर्षअघि नेपाल राष्ट्र बैंकले १५ प्रतिशतभन्दा धेरै उचारचढाव देखिए स्पष्टिकरण दिनुपर्ने व्यवस्था गरेको थियो । त्रिलोचन पंगेनी कार्यकारी निर्देशक रहेको बेला राष्ट्र बैंक नियमन विभागले त्यस्तो व्यवस्था गरेको हो ।

अहिले बैंकहरुले पूरानो लेखापरीक्षण प्रणालीलाई प्रतिस्थापन गरी नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्नर्ड अनुसार लेखा राख्न थालेका छन्, यसबीचमा चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तरमा उल्लेख्य सुधार भएको समेत बताइन्छ । प्रत्येक बैंकमा कम्तीमा ४/५ जनासम्म चार्टर्ड एकाउन्टेन्टहरु पूर्णकालीन रुपमा खटिएका हुन्छन्, उनीहरुले आन्तरिक रुपमा लेखापरीक्षण गर्छन्, यद्यपि यी दुई विवरणहरुमा त्यति ठूलो भिन्नता देखिन गएको हो ।