१२ वाणिज्य बैंककाे साढे १८ अर्बको लाभांश घोषणा, यी बैंकले लगानीकर्तालाई बनायो उत्साहित

  २०७६ असोज १८ गते १०:४९     विकासन्युज

काठमाडौं । १२ ओटा वाणिज्य बैंकहरुले साढे १८ अर्बको लाभांश प्रस्ताव गरेका छन् । दशैं बिदा शुरु हुने अन्तिम दिनसम्म आइपुग्दा सञ्चालनमा रहेका २८ मध्ये ८ वाणिज्य बैंकले कुल १८ अर्ब ६२ करोडको लाभांश प्रस्ताव गरेका हुन् । घोषणा गरिएका लाभांशमध्ये १० अर्ब ६७ करोड रुपैंयाको नगद लाभांश र ७ अर्ब ९५ करोड रुपैंयाको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ ।

हालसम्म लाभांश घोषणा भएका बैंकहरुको औसत लाभांश १७.३७ प्रतिशत रहेको देखिएको छ । जसमध्ये ९.९५ प्रतिशत नगद लाभांश र ७.४२ प्रतिशत बोनस शेयर रहेको देखिएको छ । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा बैंक अफ काठमाडौं, सिटिजन्स, ग्लोबल आईएमई, जनता, कुमारी, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया, सानिमा, नेपाल एसबीआई, सिद्धार्थ र सनराइज बैंक छन् । तीमध्ये सिटिजन्स, एनआईसी एशिया र कुमारी बैंकले साधारणसभाबाट लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् ।

हालसम्म लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश ग्लोबल आईएमई बैंकले दिएको छ । ग्लोबलले १२.७५ प्रतिशत नगद र त्यति नै बोनस शेयर दिएको हो । त्यस्तै, सिद्धार्थ बैंकले १० प्रतिशत बोनस र १५.२५ प्रतिशत नगद तथा एनआईसी एशिया बैंक र सानिमा बैंकले १० प्रतिशत बोनस शेयर ११.०५२६ प्रतिशत नगद लाभांश दिएका छन् । बाँकी ४ बैंकले भने २० प्रतिशतभन्दा कम लाभांश प्रस्ताव गरेका छन् ।

२० प्रतिशतभन्दा कम लाभांश दिनेहरुमा बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनससहित जम्मा १७ प्रतिशत, नेपाल एसबीआई बैंकले ६ प्रतिशत बोनससहित १६.८४ प्रतिशत, माछापुच्छ्रे बैंकले ५ प्रतिशत बोनससहित १६ प्रतिशत, सनराइजले १० प्रतिशत बोनससहित १५.८ प्रतिशत, सिटिजन्स बैंकको ३ प्रतिशत बोनससहित १५ प्रतिशत, जनता बैंकको ६ प्रतिशत बोनससहित १२ प्रतिशत, मेगा बैंकको ११ प्रतिशत नगद लाभांश र कुमारी बैंकको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांशको प्रस्ताव गरिएको छ ।

यी मध्ये बैंक अफ काठमाण्डू बाहेक बाकी सबै बैंकले लगानीकर्तालाई गत वर्षकोभन्दा बढी लाभांश प्रस्ताव गरेर खुसी बनाएका छन् । गत वर्ष ५.२७ प्रतिशत लाभांश(३.६३ प्रतिशत बोनस र १.६४ प्रतिशत नगद) दिएको सिटिजन्स बैंकले यस वर्ष लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिएकाे छ। जुन अघिल्लो वर्षको भन्दा करिब १० प्रतिशत बढी हो ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले अहिलेसम्मकै उच्च अर्थात २५ प्रतिशत लाभांश(१२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो ।

जनता बैंकले सेयरधनीलाई गत वर्ष ८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । तर यस आर्थिक वर्षमा बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश(६ प्रतिशत बोनस र ६ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ ।

गत वर्ष ८.५ प्रतिशत बोनस मात्रै दिएको कुमारी बैंकले यो पालि १०.२५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद) वितरण गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब २ प्रतिशत बढी हो ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । जसले यस वर्ष १६ प्रतिशत लाभांश(११ प्रतिशत नगद र ५ प्रतिशत बोनस) दिने घोषणा गरिसकेको छ ।

मेगा बैंकले गत वर्ष सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश(६.८५ प्रतिशत नगद र १ प्रतिशत बोनस) दिएको थियो । जुन यस वर्षकोभन्दा घटी हो । बैंकले यस वर्ष सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । बैंकले बोनस नदिएको सेयरधनी केही निरास देखिएपनि गत वर्षको भन्दा बढी नगद लाभांश घोषणाले उनीहरुमा केही हदसम्मको खुसी छाएको देखिन्छ ।

त्यस्तै, एनआईसी एशियाले यस वर्ष गत वर्षकोभन्दा दोब्बर लाभांश घोषणा गरेको छ । गत वर्ष १०.५३ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.५३ प्रतिशत) वितरण गरेको बैंकले यस आवमा २१.०५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) दिएकाे हाे ।

सानिमा बैंकले गत वर्ष १४ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यस वर्ष बैंकले २१.०५ प्रतिशत लाभांश(११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस) प्रस्ताव गरी सेयरधनीहरुमा खुसी ल्याएको छ ।

एसबिआई बैंकले चालु आवमा गत वर्षको एक प्रतिशत बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चालु आवमा १६.८४ प्रतिशत लाभांश(१०.८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले पनि गत वर्षको भन्दा बढी लाभांश घोषणा गरेको छ । १३.१६ प्रतिशत लाभांश(८.१६ प्रतिशत नगद र ५ प्रतिशत बोनस) वितरण गरेको बैंकले यस वर्ष २५.२५ प्रतिशत लाभांश(१५.२५ प्रतिशत नगद र १० प्रतिशत बोनस) दिर्ने प्रस्ताव गरेको छ ।

गत वर्ष बोनस नदिई ११.५ प्रतिशत नगद लाभांश मात्रै दिएको सनराइज बैंकले यस वर्ष बोनस र नगद दुबै दिने घोषणा गरेको छ । बैंकले यस वर्ष सेयरधनीहरुलाई ५.८ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.