दशैंमा घुम्न जाने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् उचित गन्तब्य

  २०७६ असोज १६ गते १८:१९     विकासन्युज

काठमाडौं। दशैंमा घुम्न जानेहरूको चहलपहल बढ्दै गएको छ । यतिखेर दशैंतिहार नमनाएर घुम्न मन पराउनेहरू विभिन्न पर्यटकीय गन्तव्यहरूको बारेमा जान्न र बुझ्न खोज्दै हुुनुहुन्छ। विदाको समय पारेर परिवार र साथीहरुसँग मुलुकका प्रचलित पर्यटकीय स्थलहरूमा घुम्न जाने गर्दछन् ।

विशेषतः घुम्नका लागि बसन्त र सरद ऋतु उत्तम मानिन्छ । यो मौसममा धेरैजसो मानिसहरु घुम्न निस्कने गर्छन । छुट्टीको समयमा घुम्न मन पराउनेहरूको चाहनालाई मध्येनजर गर्दै हामीले केही पर्यटकीय स्थलहरूको बारेमा चर्चा गरेका छौं ।

खप्तड

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध र सुन्दर पर्यटकीय स्थलका रुपमा खप्तडलाई लिइने गरिन्छ । प्रदेशका चार पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीकोबीचमा पर्ने खप्तडलाई स्वर्गको उपमा पनि दिइएको छ । फराकिला फाँट हेर्नैका लागि आन्तरिक र बाह्य पर्यटकहरु खप्तड राष्ट्रिय निकुञ्जमा पुग्ने गर्दछन् ।

समुन्द्री सतहबाट तीन हजार पाँच सय मीटरसम्म उचाइमा रहेको यस निकुञ्जमा ५ सय ६७ थरीका वनस्पति र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगीं मध्ये साढे दुई सय भन्दा बढी चराचुरुंगी पाइन्छन् । खप्तडमा ५२ वटा ताल रहेका छन् ।

पोखरा

पोखरा नेपालको प्रमुख पर्यटकीय स्थल मध्येको एक हो । पोखरामा दशैंको समयमा मात्र होइन हरेक समयमा घुम्न जानेहरूको घुँइचो लाग्ने गर्दछ । पोखराको डेविड फल, गुप्तेश्वर, छाँगा छहरा हेर्न, बिन्दावासिनी, तालबराहीलगायतका प्रसिद्ध धार्मिक स्थलहरूको अवलोकन गर्न पनि पाइन्छ । फेवातालमा पर्ने माछापुच्छे्रको छाँया हेर्दै डुङ्गा चढ्न र रमणीय हिमालहरू अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पोखरा पुग्ने गर्छन् ।

रारा

नेपालको पर्यटकीय स्थल भन्ने वित्तिकै धेरैले राराको नाम लिने गर्छन् । समुन्द्री सतहबाट २९ सय ९० मिटरको उचाईमा रहेको राराताल सुन्दर मात्र होइन उतिकै मनमोहक र प्रख्यात पनि छ । रारा ताल १० दशमलब ८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालमा विश्वका अन्यत्र नपाइने स्नो ट्राउट प्रजातीका माछा पाइन्छन् । घामको किरणसँगै राराले आफ्नो रंग बदल्ने गर्छ । रारा पुग्नका लागि हवाई तथा स्थलमार्ग प्रयोग गर्न सकिन्छ ।

मुस्ताङ

हिमाल पारीको जिल्लाका रुपले परिचित मुस्ताङ आन्तरिक तथा बाह्य पर्यटकहरूको आकषर्णको थलो हो । मुस्ताङको मनोरम दृश्यको अवलोकन गर्न मात्र नभइ मानिसहरू मुक्तिनाथ मन्दिरको दर्शन गर्न मुस्ताङ पुग्ने गर्छन् । यो जिल्लामा धौलागिरी र निलगीरी दुई प्रख्यात हिमालहरू छन् । मुस्ताङको मार्फा गाउँ पनि पर्यटकका लागि आकर्षको बनेको छ । वरिपरी पहाडले घेरिएको उक्त गाउँ निकै सुन्दर र मनोरम छ । यस्तै मुस्ताङको अर्को रमणीय स्थल हो कागबेनी । यहाँ विभिन्न चलचित्रहरूका साथै म्यूजिक भिडियो समेत छायांकन हुने गर्छ ।

सौराहा

नेपालका धेरै गन्तव्य स्थलमध्ये सौराह पनि एक उम्दा पर्यटकीय क्षेत्र हो । चितवनको सौराहा, मेघौली, सिराइचुली, लामो झरना लगायत चितवनका आकर्षक पर्यटकीय गन्तब्य हुन् । काठमाडौबाट मुग्लिन हुँदै १ सय ६५ किमी सडकको दुरीमा चितवन पुग्न सकिन्छ । नेपालको आकर्षक पर्यटकीय गन्तब्यका रुपमा रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । एक सिंगे गैडा पाइने सौराह निकुञ्जमा हात्ती चढेर जंगल घुम्न, राप्ती नदिमा डुङ्गा सयर गर्न र सुर्यास्त हेर्न सौराहाको आकर्षण हो

पाथिभरा

पाथिभरा ताप्लेजुङमा पर्ने प्रख्यात धार्मिक स्थल हो । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरादेवी विश्वमै प्रख्यात रहेकी छिन् । पाथिभराबाट विश्वका विभिन्न हिमश्रृंखलाहरू अवलोकन गर्न पाइन्छ । काठमाडौंबाट दुई दिनको बस यात्रामा पाथिभरा पुग्न सकिन्छ ।

लुम्बिनी

पर्यटकहरुका लागि शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी उत्कृष्ट गन्तब्य हो । काठमाडौंबाट तीन सय किलोमिटर दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोणले अत्यन्तै प्रसिद्ध मानिन्छ ।लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । २५६२ वर्ष पहिला सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । त्यसैले संसारभरका बौद्ध धर्मालम्बीहरूको लागि लुम्बिनी आकर्षक गन्तब्यका रुपमा लिने गरिन्छ ।

संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ। हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरू तथा अध्ययनकर्ताहरूले लुम्बिनीको भ्रमण गर्छन् ।

इलाम

इलाम घुम्न जाने सबैको चाहना हुन्छ । पर्यटकहरूले सबैभन्दा रुचाउने पर्यटकीय स्थलमध्ये इलाम पनि एक हो । इलामको कन्याम चियाबारी घुम्न जानेको जहिले पनि भिड लाग्छ । इलाममा घुम्न लायक कन्याम, अन्तुडाँडा, छिन्टापु, पाथिभरा, इलाम बजारलगायतका थुप्रै स्थानहरू रहेका छन् ।इलाममा पिकनिक स्पोर्टस्, होमस्टे तथा अवलोकन स्थानहरू प्रशस्त छन् । इलामको चिया बगानमा घोडा चढेर चियाका बोटले भरिएका डाँडाहरु अवलोकन गर्न सकिन्छ । इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ । त्यस डाँडाबाट कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमालहरू देख्न सकिन्छ ।

स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो एक धार्मिक तिर्थस्थल हो । स्वर्गद्वारीबाट धौलागीरी, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायतका हिमश्रृंखलाहरू देखिन्छन् । समुन्द्री सतहबाट २ हजार ४८ मिटरको उचाइमा रहेको छ स्वर्र्गद्घारी ।पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको द्वार भएर स्वर्ग गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । त्यसैले यो ठाउँलाई स्वर्गद्वारी भनिएको हो । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको पाइन्छ । भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । यहि विशवासका साथ पर्यटनहरू त्यहाँ पुग्ने गर्छन । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.