वार्षिक २० अर्बको फलफूल आयात, दशैंलाई लक्षित गरी १० गुणा आयात बढ्ने

२०७६ असोज १६ गते १७:३९ विकासन्युज

काठमाडौं । नेपालमा वार्षिक रुपमा २० अर्ब रुपैयाँ बराबरको फलफूल विभिन्न देशबाट नेपाल भित्रिने गरेको छ । सामान्य समयमा भन्दा चाडपर्वका बेला १० गुणा बढी आयात हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले पछिल्लो समय सरकारले क्वारेन्टाइनमा कडाई गरेका कारण व्यवसायी तथा उपभोक्ता मारमा परेको बताए ।

‘आफ्नै देशको उत्पादनको क्षमतालाई मूल्याङ्कन गरी प्रत्येक भन्सारमा क्वारेन्टाइन राख्नु पर्ने हो, तर माग र आपूर्तिबारे सही तथ्य थाहा नपाई सरकारले गरेको निर्णयले अप्रत्यक्ष रुपमा उपभोक्ता मारमा परिरहेका छन्’– अध्यक्ष बानियाँले भने ।

भारत र चीनबाट भित्रछ धेरै फलफूल
नेपालमा अधिकांश फलफूल भारत र चीनबाट आयात हुँदै आएको छ भने, पछिल्लो समय अन्य मुलुकबाट पनि आयात हुँदै आएको संघका अध्यक्ष बानियाँले बताए । युगान्डा, न्युजिल्याण्ड र माल्टा र साउथ अफ्रिकाबाट समेत फलफलू आयात हुने गरेको छ ।

नेपालमा उत्पादन हुने फलफूल मध्ये केराको उत्पादन बढी
नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै किसिमको फलफूल उत्पादन हुने कृषिविद्को भनाई रहेको छ । पछिल्लो समय नेपालमा उत्पादन हुने फलफलू मध्ये केराको हिस्सा ५० प्रतिशत रहेको छ ।
आँपको र सुन्तलाको सिजनमा पनि नेपाली उत्पादनले बजारको मागको पूरा गर्न सक्ने अवस्था रहेको अध्यक्ष बानियाँले बताए ।भारतबाट यस वर्ष स्याउ आयात कम भएको छ ।

बजारको माग अनुसार ५ प्रतिशत मात्र नेपालमा उत्पादन हुन्छ । ९० प्रतिशत भन्दा बढी स्याउ चीनबाट आयात हुँदै आएको छ । बाँकी सबै प्रकारका फलफूल भारत तथा अन्य देशबाट हुने आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष बानियाँले बताए । केरा खेती सबैभन्दा बढी चितवन, नवलपरासी, सुनसरी, बारा र कैलालीमा हुने गरेको छ ।