बढी भाडा असुल्ने सवारीबाट रकम फिर्ता गराउँदै प्रहरी

  २०७६ असोज १६ गते १३:४३     विकासन्युज

चितवन । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ ।

उनका अनुसार काठमाडौँबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा ३ ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई रु दुई सय देखि चार सयसम्म बढी लिइएको भाडा प्रति व्यक्तिका दरले फिर्ता गराइएको हो ।

गिरीका अनुसार आज यातायात कार्यालयका प्रतिनिधिको रोहवरमा भरतपुरको रामनगरमा चेकजाँच थालिएको छ । दशैँको टिकाको दिन अघिसम्म काठमाडौँबाट आउने र टीकापछि काठमाडौँ फर्कने सवारी साधनमा चेकजाँच गरिने उनले बताए ।

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै उनले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कडा कारवाही गरिने बताए ।

यस्तै, सवारी गतिसमेत चेकजाँच गर्न थालिएको छ । चाडपर्वको समयमा तीव्र गतिमा सवारी चलाउने गरेको र यसले दुर्घटना बढाउने भन्दै चेकजाँच थालिएको हो ।

बुधबार कुरिनटार क्षेत्रमा राजमार्गमा गति मापनयन्त्र (राडरगन) बाट चेकजाँज गरिएको थियो । यस कार्यलाई पनि विभिन्न सडकमा निरन्तरता दिइने गिरीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.