निजी क्षेत्रले प्रदेश सरकारलाई उछिन्यो, नारायणी नदीमा ‘सानो पानी जहाज’ सञ्चालन

  २०७६ असोज १६ गते ११:५०     विकासन्युज


नारायणगढ । प्रदेश नम्वर ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (सानो पानी जहाज ) सञ्चालन गर्ने तयारी भैरहेका बेला छुट्टै निजी क्षेत्रले नारायणी नदीमै मिनी क्रुज सञ्चालन गरेको छ । रंगमहल रिभर ल्याण्ड प्रालिले नारायणीमा मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक शुरुवात भने दशैको फूलपाती अर्थात शनिवारबाट शुरु गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।

“हामीले अहिले टेष्ट ड्राईभ शुरु गरेका हौँ, यसलाई औपचारिक रुपमा फूलपातीवाट शुरु गर्ने छौ”, अध्यक्ष भट्टराईले बताए । मिनी क्रुज झट्ट हेर्दा सानो पानी जहाजकै स्वरुपमा छ । यसलाई स्थानीय पानी जहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलो पटक गत आइतवार र सोमबार नारायणी नदीमा टेष्ट डाईभ गरिएको थियो । “अहिले हामी २० जना यात्रु राखेर यसमा चलाउन सक्ने छौं”, अध्यक्ष भट्टराईले भने ।
मिनी क्रुज सगै प्रालीले २ वटा जेट स्किम, २ वटा रिभर वोट र एक वनाना वोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रालिले झण्डै साढे तीन करोड रुपियाँ लगानी गरेको छ ।

रंगमहल रिभर ल्याण्ड प्राली कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउनका लागि वन तथा वातावरण मन्त्रालयवाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गराएको छ । पर्यटन मन्त्रालय र भरतपुर महानगर पालिकावाट सञ्चालनको अनुमति पनि लिएको छ । नारायणगढको नारायणी किनार स्थित वुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रालिले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । “हामीले पर्यटन प्रर्वधनकै लागि मिनी क्रुज चलाउने उदेश्य राखेका हौं”, प्रालिका अध्यक्ष भट्टराईले बताए ।

नारायणी नदीमा झण्डै दुई सय सिटको क्रुज अर्थात सानो पानी जहाज चलाउने तयारी भै रहेको अवस्थामा मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले क्रुज वनाउँदै छ । दशैंअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । कात्र्तिक महिना भरीमा क्रुज पनि नारायणीमा सञ्चालनमा आउने छ ।

“प्रदेश सरकारले क्रुजको पार्किङ्ग स्थल अर्थात पोर्ट (बन्दरगाह ) निर्माणका लागि एक करोड रुपियाँ अनुदान सहयोग गरेको हो ”, प्रबन्ध निर्देशक कँडेलले भने,–“पोर्ट बनाउदै गर्दा यसले नारायणी नदीको कटान पनि रोक्ने उदेश्य राखिएको छ ।” क्रुज सञ्चालन गर्ने वेला सम्म जम्मा २५ करोड खर्च हुने र अहिले क्रुज वनाउन मात्रै १५ करोड रुपियाँ खर्च भएको उनले बताए । “साढे दुई तलाको क्रुजमा २०० सिट रहने छ”, कँडेलले भने, “क्रुज भित्रै खाना खाँजा समेतको ब्यवस्था गरेर यात्रा गराइने योजना हाम्रो हो ।”

रंगमहल रिभर ल्याण्ड प्रालीले नारायणीमा संञ्चालनमा ल्याएको मिनी क्रुज चिनमा निर्माण भइ नारायणी नदीमा ल्याइएको हो भने राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले सञ्चालनमा ल्याउन लागेको क्रुज प्राविधिकहरु विदेशवाट झिकाएर नारायणी नदीमै निर्माण गर्दै गरिएको हो ।
पर्यटन वर्ष २०२० नजिकदै गरेको समयमा नारायणी नदीमा मिनी क्रुज नयाँ आर्कषण बनेको छ । मिनी क्रुज नै सञ्चालनमा आएपछि यसले अझै प्रभावकारिता बढ्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वप्रसाद सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.