अर्थमन्त्री खतिवडा भारत प्रस्थान, के छ त विशेष एजेण्डा ?

२०७६ असोज १५ गते १७:५४ विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारतको नयाँ दिल्ली प्रस्थान भएका छन् । अर्थमन्त्री खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान भएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा सम्बोधन गर्ने छन् । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराउने छन् ।

त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा अर्थमन्त्री डा. खतिवडाले भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भेट गरी पछिल्लो आर्थिक स्थिति, नेपाल-भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

उनी असोज १८ गते स्वदेश फर्किने छन् ।