दाङमा पूर्वाधार विकासका ९१ योजनाकाे काम शुरु

  २०७६ असोज १५ गते ११:०८     विकासन्युज

तुलसीपुर । दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताएका छन् ।

यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने दुई पुल निर्माण भएका छन् ।

बाँकी २५ योजनाको काम भने अबको केही महिनामा पूरा हुने कार्यालय प्रमुख भण्डारीले बताए । उनका अनुसार गएको वर्ष समानीकरणतर्फ रु ४२ करोड सात लाख बजेट विनियोजन भएकामा रु २८ करोड खर्च भएको छ ।

साथै वर्षात्का कारण समयमै काम नहुँदा रु नौ करोड सात लाख बजेट फ्रिज हुनपुगेको समेत उनले बताएका छन् । समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै सशर्ततर्फ रु १९ करोड ९० लाख बजेट विनियोजन भएको थियो । सोमा रु १३ लाख ६० हजारको काम पूरा भएको प्रमुख भण्डारीले जानकारी दिए । सशर्ततर्फको बाँकी बजेट पनि समय अभाव र वर्षातका कारण फ्रिज भएको छ ।

साथै उक्त कार्यालयले गत वर्ष ८.२१ किलोमिटर कालोपत्र गरेको छ । त्यस्तै ४५.३४ किलोमिटर सडक ग्राभेल गरिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार नौ हजार ४५४ घनमिटर टेवा पर्खालको काम भएको छ ।

उक्त कार्यालयले गत वर्ष चार पुल निर्माणको काम शुरु गरेको थियो । तीमध्ये चार पुलको काम पूरा भएको छ भने अन्य दुई पुलको काम यस वर्ष पूरा हुनेछ । सौडियार–धर्ना सडकखण्डमा पर्ने बबई खोलामा ७० मिटर लम्बाइको पक्की पुल र हेकुली–श्रीगाउँ चिराघाटखोलामा पर्ने ७५ किलोमिटरको पुलको निमार्णकार्य पूरा भएको छ ।

ती पुलको काम पूरा भएर पनि सञ्चालनमा आइसकेका उनले बताए । बबई गाउँपालिकाअन्तर्गत खिलतपुर च्याटीखोलामा पर्ने पुल र गढवा गाउँपालिकामा पर्ने जनहरि खोलाको पुल बन्दै गरेको अवस्थामा रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.