दशैं तिहार मनाउन एक महिना विद्यालय बिदा, अभिभावकलाई टाउको दुखाई

  २०७६ असोज १५ गते ९:१०     डोमी शेर्पा

काठमाडौं। धोबिघाटकी पुष्पा थापा मगर सहकारी संस्थामा काम गर्छिन् । बिहान साढे ९ बजे घरबाट हिँडेर बेलुकी साँढे ५ बजे घर आईपुग्ने उनको दैनिकी हो । छोराछोरीलाई विद्यालय पठाएर अफिस जान उनलाई ठिक्क हुन्छ, तर जब स्कुल बिदाको खबर आउँछ उनलाई तनाव शुरु हुन्छ । ६ र १० बर्षका दुइ छोराछोरी भएकी उनलाई विद्यालय बिदाको दिन अफिसमा रहँदा दिनभर उनीहरु कहाँ गए, के गरे भन्ने चिन्ताले सताउँछ ।

लैनचौरकी ३५ वर्षिय कमला रायमाझीलाई पनि दिउँसो अफिस जानु पर्ने भएकोले १२ वर्षिय छोरी रचनाको स्कुल बिदा हुँदा त्यस्तै तनाव हुन्छ । कमलाका श्रीमान् दुबईमा बस्छन् । यहाँ उनी एउटा फ्ल्याटमा छोरीसँग बस्दै आएकी छिन् । उनको सासुससुरा गाउँमै बस्छन् । छोरीलाई धन्न विद्यालयको गाडीले घर अगाडि नै छोडिदिन्छ र उनलाई ढुक्क छ । तर, दशैं तिहारमा लामो समय विद्यालयहरु छुट्टी हुँदा छोरीको बिजोग हुने तनाव उनलाई हरेक बर्ष हुन्छ ।

हजुरबुवा हजुरआमाकोमा छोड्ने अवस्था छैन, किनकी उहाँहरुलाई नै हेर्नपर्ने अवस्था छ । उनी हरेक बर्ष बिदामा छोरीलाई कहिले मामाकोमा छोड्छिन् त कहिले साथीकोमा । आफन्तकोमा छोड्दा उनी छोरीलाई दिनमा ५-६ पटक कल गर्छिन् । आफु नहुँदा अरुलाई दु:ख दिने चिन्ताले उनलाई दिनभर सताउँछ ।

यो पुष्पा र कमलाको मात्रै समस्या होइन, हजारौं जागिरे परिवारको प्रतिनिधि समस्या हुन्, जो स्कुल बिदा नै नहोस् भन्ने चाहन्छन् । पुष्पा भन्छिन्–‘कतै गएर हराउने हो कि, दुर्घटनामा पर्ने हो कि, कसैसँग झगडा गर्ने हो कि भन्ने चिन्ताले सताउँछ, बरु स्कुल गए आनन्द आउँछ।’

अहिले काठमाडौं महानगरपालिकामा मात्रै सामुदायिक र निजी विद्यालयमा गरी १ लाख ७५ हजार ४ सय विद्यार्थी अध्ययन गर्छन् । माध्यमिक तह भन्दा तल्ला कक्षामा पढ्ने विद्यार्थीहरुलाई अभिभावकको निरन्तर निगरानी आवश्यक हुन्छ । तर, बिदाको बेला दिनभर उनीहरुलाई हेर्ने कोही हुँदैन ।

दशैं तिहार मनाउन १ महिना बिदा
दशैंको सुरुवातसँगै कलेज तथा विद्यालयहरुले एक महिना लामो छुट्टी दिएका छन् । तर, सरकारले दिएको सार्वजनिक बिदा ६ दिनको मात्र हो । यति लामो बिदाले कामकाजी अभिभावकको दैनिक कार्यमा समस्या थपिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले गत फागुनमा नयाँ बर्ष २०७६ को क्यालेन्डर बनाउँदै गर्दा दशैं र तिहारमा १ महिना बिदा दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन, अभिभावक संगठन बीचको छलफलपछि बिदाबारे निर्णय गरिएको बताइएको छ ।

के भन्छन् विद्यालय सञ्चालकहरु ?
धेरै विद्यार्थीहरु उपत्यका बाहिरका भएको र महानगरले पनि यही निर्णय गरेको कारण पनि धेरैजसो शैक्षिक संस्थाहरुले छठसम्म बिदा दिएका छन् । यधपी केही विद्यालय तथा कलेजहरुले भने पन्ध्र दिन मात्र बिदा दिएका छन् ।

कलंकी स्थित नेपालय विद्यालयका प्रधानाध्यापक मनोज थापा मगरले यस बर्ष विद्यालय एक महिना बिदा दिएको बताए । उनले भने-‘एक-एक महिना बिदा हुँदा विद्यार्थीहरुको पढाई बिग्रन्छ । यसले न त विद्यालयलाई कुनै फाईदा छ, न त बालबालिकाहरुलाई ।’ यसअघि आफुहरुले कहिले पनि एक महिना बिदा नदिएको, तर महानगरले यो बर्ष बिदा गर्नैपर्छ भन्ने नयाँ नियम ल्याएको कारण मात्र आफुहरुले १ महिना बिदा दिएको बताए ।

यता, मैत्रीनगर स्थित सौगात मन्टेश्वरीले भने दशैं लगत्तै विद्यालय खोल्ने निर्णय गरेको छ । कामकाजी अभिभावकहरुले लामो बिदामा बालबालिका हेरचाह गर्ने व्यक्ति घरमा नभएकोले विद्यालय खोल्न आग्रह गरेको कारण आफूहरुले छोटो समय मात्र बिदा दिएको प्रधानध्यापक राज्य लक्ष्मी बताउँछिन् । उनी भन्छिन्-‘२० प्रतिशत अभिभावकले मात्र बिदामा आफ्नो छोराछोरीलाई समय दिन पाउँछन् । ’

बालबालिका र हजुरबुवा/हजुरआमाबीच बढ्दै गएको दुरीहरु मेटाउन दशैँको लामो बिदा निकै उपयुक्त भएको उनी बताउँछिन् । यो समयमा विद्यार्थीहरुले खेलेर मात्र नभई अन्य नयाँ ठाउँ घुम्ने, नयाँ सामाग्रीको बारेमा ज्ञान बटुल्ने हो भने निकै फाईदाजनक हुने उनको तर्क छ ।

बिदा हुँदा रमाउँछन् विद्यार्थी
धोबीघाटको हिमालय इन्टरनेशनल आइडल स्कूलमा कक्षा १० मा अध्ययनरत प्रवेश थापा मगर बिदा कहिले हुन्छ भनेर दिन गन्दै बस्ने गरेको बताउँछन् । बिदा हुँदा विद्यार्थी मात्र नभएर हरेक व्यक्तिको अनुहारमा छुट्टै चमक आउँछ । तर, के एक महिना बिदा विद्यार्थीको लागि राम्रो हो त ? के यसले उसको पढ्ने बानी बिगार्दैन ? यस सम्बन्धमा भने विभिन्न व्यक्तिहरुको धारणा फरक फरक पाइन्छ ।

नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो भन्ने उखान नै छ । यही उखानलाई आधार मान्दा १ महिना बिदाले विद्यार्थीहरुको पढाईमा पक्कै नकारात्मक असर पर्छ । विद्यार्थीहरुलाई विद्यालय तथा अभिभावकले बिदाको सदुपयोग गर्ने उपायहरुको बारेमा नसिकाउँदा पनि विद्यार्थीहरु बिदाभर खेलेरै बिताउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.