विदेशका अस्पतालको ‘कोमा’मा २३ नेपाली, जेलमा छन् ५ सय ३७ जना

  २०७६ असोज १३ गते १४:३२     सुनिता पुडासैनी


काठमाडौं । वैदेशिक रोजगारका क्रममा दुर्घटना भई अचेत भएका २३ नेपाली विभिन्न देशको अस्पतालका कोमामा रहेका छन् । विदेशका अस्पतालको कोमामा रहेका बिरामीलाई नेपाल ल्याउने बैदेशिक रोजगार निर्णय बोर्डले निर्णग गरेको छ । तर, कोमा केयर सेन्टरको अभावमा ती व्यक्तिलाई नेपाल ल्याउन सकिएको छैन ।

सरकारले वैदेशिक रोजगारको क्रममा घाइते तथा बिरामी भई कोमामा रहेका २५ जना नेपालीहरु मध्ये २ जनालाई काठमाडौं ल्याएर उपचार गराइएको बोर्डले जनाएको छ । कोमा सेन्टरको अभावमा सबैलाई नेपाल ल्याउन सकिएको छैन–बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक दीनबन्धु सुवेदीले बताए । पछिल्लो समय कतारमा १५ जना, साउदी अरबमा ७ र कुवेतमा १ जना नेपाली कोमामा छन् ।

कोमामा रहेका बिरामीलाई ल्याउनु अगाडि परिवारको स्वीकृति, सरकारी अस्पतालको स्वीकृति र बिरामी रहेको देशको कम्पनी तथा दुतावासको स्वीकृति पत्र अनिवार्य रहेको बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक सुवेदीले बताए ।

कतारमा कोमामा रहेका ७ जना बिरामीलाई नेपाल ल्याउने तयारी भएपनि अस्पतालमा आईसियूको अभावको कारण काम अगाडि बढाउन सकिएको छैन-निर्देशक सुवेदीले भने ।

कोमामा रहेको बिरामीलाई वीर अस्पतालमा आईसियू वेड व्यवस्थापनको अनुरोध गर्दै वैदेशिक रोजगार बोर्डले पत्र लेखेपछि अस्पतालले आईसियू वेडको अवस्था अत्याधिक कम भएको हुँदा व्यवस्थापन गर्न मुस्किल भईरहेको जवाफ फर्काएको छ । बोर्डकै सहयोगमा कोरियामा रहेका झापाका ओमनाथ ढकाल र संयुक्त अरब इमिरेट्सबाट पर्वत घर भएका कुमार कामीलाई नेपाल ल्याएर उपचार भइरहेको छ ।

कतारमा कोमामा रहेका 
दिनेशकुमार चौधरी, देवेन्द्रकुमार थापा, भक्तबहादुर मगर , सुबेन्द्र घिसिङ्ग, मनराज डांगी, लिलाराम सापकोटा, अभिषेक कुमाल, भरतराम लवाद, श्रीबहादुर नेम्बाङ, लियामत कवारी , दिनेशकुमार राई, ओमबहादुर कुम्हाल, छविराज आले, भीमबहादुर थापा, राजाराम चमार ।

साउदी अरबमा कोमामा रहेका
महेन्द्र गुरुङ्ग, बाटुली सुनार, मनोजकुमार माझी, चण्डेश्वरविन मुखिया, प्रकाश गुरुङ्ग, बेदबहादुर भुजेल र देवराज दर्जी ।

कुवेतमा कोमामा रहेका
गंगाबहादुर मगर ।

५ सय ३७ जना नेपाली विभिन्न देशको जेलमा
वैदेशिक रोजगारमा गएका ५ सय ३७ जना नेपाली विविध देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । वैदेशिक रोजगारमा गएका मध्ये सबैभन्दा २०१ जना मलेसिया र १८२ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै कुवेतमा ५८, ओमनमा २, साउदी ४९, कतारमा ३५ र बहराइनमा ५ जना नेपाली जेलमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.