दोस्रो बजार खोलौं, ५ अर्बको कारोबार हुन्छ : रेवतबहादुर कार्की

  २०७६ असोज १२ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्जसँगै निजी क्षेत्रमा अर्को मार्केट खोल्ने हो भने दैनिक ५ अर्ब भन्दा बढीको शेयर कारोबार हुने दोहोर्याएका छन् । धितोपत्र बोर्डका अध्यक्षको रुपमा अन्तिम पत्रकार सम्मेलन आयोजना गरेका कार्कीले आफूले विगतमा पनि दोस्रो बजारको आवश्यकता रहेको बताएको भन्दै अहिले पनि निजी क्षेत्रबाट सञ्चालन हुनेगरी थप एउटा स्टक मार्केट चाहिने बताएका हुन् ।

‘अर्थतन्त्र र पुँजीबजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक प्रवेश गराउने नीतिगत निर्णय भइसकेको परिप्रेक्षमा नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्को स्टक एक्सचेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वच्थ, आधुनिक बजारको विकास र विस्तार गर्ने चुनौती छ, जसबाट आधुनिक सुविधा उपलब्ध भई दैनिक ५ अर्बको कारोबार हुनसक्छ’ कार्कीले भने ।

त्यस्तै, अन्तराष्ट्रिय रुपमा परीक्षण गरिएको सफ्टवेयर प्रणाली अपनाई गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराउने तथा नियमन निकायसहित बजार सहभागिताको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नती गराउनु मुख्य चुनौती रहेको बताए ।

उनले आफूले बजार सुधारका लागि उल्लेख्य कामहरु गरेको भन्दै दोस्रो बजार खोलेर कारोबार बढाउनु, धितोपत्र बजार श्रम, प्रविधि र सेवाका हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाउनु बोर्डको लागि अबको चुनौती रहेको बताए । कार्कीले आफ्नो कार्यकालमा प्राथमिक बजारको सुधार तथा विकास, दोस्रो बजारको सुधार तथा विकास, लगानीकर्ताको प्रत्यक्ष समस्या समाधान, ब्रोकर र मर्चेन्ट बैंकिङ सेवा/क्षेत्र विस्तार र सुदृढीकरण, बोर्डको क्षमता अभिवृद्धि, नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्था, कानूनी संरचना विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवानासहितको कानूनी कारबाही, वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहनमूलक प्याकेज र सूचिकृत कम्पनीमा सुशासन निर्देशिका लागु गर्ने, धितोपत्र बोर्डलाई अन्तर्राष्ट्रिय संस्था बनाउने लगातका सुधारहरु गरेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.