ट्राफिक प्रहरीले भने- ‘ढुक्क हुनुहाेस्, अब नागढुङ्गामा त्यस्तो जाम हुँदैन’

  २०७६ असोज १२ गते १५:२०     विकासन्युज

काठमाडौं । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।

यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाएका छन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ ।

“आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन”, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने । उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ ।

खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रुपमा शुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रँदा यात्रुले जामको समस्या झेल्नुपर्यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए । उक्त र्याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ ।

यस्तै, आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ ।

एकै दिन एक लाख ५६ हजार यात्रु बाहिरिए

प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए । “यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ”, प्रहरी उपरीक्षक पौडेलले भने ।

आज घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले जामको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ ।

व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन् । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ ।

मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, “अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ ।” मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,” ढकालले भने ।

प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उनले बताए । “अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ”, महाशाखा प्रमुख ढकालले थपे । ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयमसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.