पर्यटकीयस्थलको पूर्वाधार निर्माणमा सङ्घीय सरकारले छुट्यायो पाँच करोड

२०७६ असोज १२ गते १२:२९ विकासन्युज

म्याग्दी । म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिएका छन् । घोडेपानी–मोहरेडाँडा पदमार्ग, पुनहिल पूर्वाधार, रुइसे धवलागिरि आइसफल पदमार्ग, धवलागिरि चक्रिय पदमार्ग, गुर्जा हिमाल पदमार्ग, तातोपानी कुण्ड, ताकमकोत पुनःनिर्माण र गलेश्वरलाई रु ५० लाख विनियोजन भएको छ ।

बेनी–टोड्के–मालिका पदमार्गलाई रु ५० लाख, अन्नपूर्ण पदमार्गलाई रु ४० लाख, भकिम्ली बेलढुङ्गा पदमार्गलाई रु १० लाख विनियोजन भएको छ । यसैगरी गण्डकी प्रदेशका सांसद विनोद केसीले गत वर्ष शुरु भएका र विगतमा ठेक्का लागेका खानेपानी, सडक आयोजनालाई पूर्णता दिन यसपाली प्राथमिकताका साथ बजेट विनियोजन भएको बताएका छन् ।

सङ्घीय सांसद थापाले योजना तथा कार्यक्रम छनोटमा भौगोलिक सन्तुलन मिलाएको बताए भने प्रदेश सांसद केसीले प्रदेश र सङ्घका योजना कार्यान्वयनमा स्थानीय तहले बेवास्ता गरेको गुनासो गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहका योजना अनुगमनका लागि विवरण मागे पनि उपलब्ध नगराएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना छनोटदेखि कार्यान्वयनमा समन्वय हुनुपर्ने विचार राखेका छन् । रासस