नेपाल बैंकको सीईओमा कृष्ण अधिकारी नियुक्त, व्यवसाय र नाफा १०० प्रतिशत वृद्धिको लक्ष्य

  २०७६ असोज १२ गते ११:५७     विकासन्युज

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । हाल बैंकको कामु सीईओको रुपमा कार्यरत अधिकारी खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका हुन् ।

प्रमुख कार्यकारी अधिकृतबाट देवेन्द्रप्रताप शाह गत चैतबाट अवकास भएपछि अधिकारी कामु सिइओ बनेका थिए । नेपाल बैंकले ७ महिनामा सिईओ पाएको हो ।

शनिबार बसेको नेपाल बैंक संचालक समिति बैठकले तीन जना मध्येबाट अधिकारीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बताए ।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको थियो । त्यस मध्येबाट प्रमुख कार्यकारी अधिकृतको अन्तिम छनोटमा अधिकारी सहित शंकरकुमार रायमाझी र शेषरमण आचार्य परेका थिए ।

१०० प्रतिशत वृद्धिको लक्ष्य

नवनियुक्त अधिकारीले आफ्नो कार्यकालमा संस्थाको गरिमा माथि पुर्याउने, बैंकलाई प्रतिस्पर्धी बनाउने, कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने योजना रहेको बताए । संस्थाको सूचकहरु दोब्बर ठूलो बनाउने लक्ष्य लिएको जानकारी दिए ।

‘चार वर्षको अवधिमा व्यवसाय दोब्बर बनाउने र अन्तिम वर्षको नाफा कम्तिमा ६ अर्ब रुपैयाँ पुर्याउने व्यवसायिक योजना बनाएको छु’ अधिकारीले विकासन्युजसँग भने– ‘निक्षेप, कर्जा लगायत व्यवसाय वार्षिक २५ प्रतिशतले वृद्धि गर्दै चार वर्षमा दोब्बर बनाउन सकिन्छ । नाफा पनि सोही अनुसार वृद्धि गर्ने योजना रहेको छ । अन्तिम वर्ष वार्षिक नाफा ६ अर्ब रुपैयाँ गर्न सकिने योजना बनाएको छु ।’

बैंकको पुँजी वृद्धि गरेर करिव १४ अर्ब बनाउने उनको योजना छ । ‘हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । बोनस सेयर जारी गरेर नियमित प्रक्रियाबाट पनि १३/१४ अर्ब बनाउन सकिन्छ’ उनले भने ।

हाल देशका ६२ जिल्लामा १६६ शाखा र २४ उपशाखा भएको जानकारी दिदै आफ्नो कार्यकालमा ७७ वटा जिल्लामा नेपाल बैंकलाई पुर्याउने बताए । यसै वर्ष २० वटा शाखा खोल्ने योजना छ । आगामी वर्ष पनि निरन्तर शाखा विस्तार गछौं’ अधिकारीले भने ।

२०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारीले १६ वर्ष लगातार साेही बैंकमा काम गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका अधिकारीसँग कर्जा शाखामा बढी समय काम गरेकाे अनुभव छ । कर्जा जाेखिम विश्लेषणमा  र खराव कर्जा असुलीमा अधिकारीले विगतमा  गरेकाे काम बैंक भित्र प्रशंशा हुने गरेकाे छ ।

१ खर्ब ६५ अर्ब रूपैयाँकाे वासलात भएकाे याे बैंक चलाउने प्रमुख कार्यकारी अधिकृतकाे मासिक तलब ३ लाख रुपैयाँ हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.