शेयर बजारमा ६ सातापछि नेपाल लाइफले हिमालयन बैंकलाई उछिन्यो, कसको अवस्था कस्तो ?

  २०७६ असोज १२ गते ९:४६     विकासन्युज

काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत साउन ३० गतेदेखि हिमालयन बैंक नेपाल लाइफ भन्दा माथिल्लो स्थानमा रहँदै आएको थियो ।

हाल नेपाल लाइफ इन्स्योरेन्को बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया छ । नेपाल लाइफको साधारण शेयरको मूल्य दोस्रो बजारमा ७५६ रुपैंया छ । ५ करोड ४९ लाख ६१ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया भएको हो ।

त्यस्तै, हाल हिमालयन बैंककाे बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया छ । हिमालयन बैंकको साधारण शेयरको मूल्य दोस्रो बजारमा ४७८ रुपैंया छ । ८ करोड ५२ लाख २ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया भएको हो ।

गत साता हिमालयन र नेपाल लाइफ दुबैको शेयर मूल्यमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको भन्दा हिमालयन बैंकको शेयर मूल्यमा  उच्च गिरावट देखिएसँगै पुँजीकरणका आधारमा नेपाल लाइफले हिमालयनलाई उछिन्न सफल भएको हो ।

शेयर बजारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै नेपाल लाइफ र हिमालयन बैंकबीच बढी प्रतिस्पर्धा हुने गरेको छ । सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम लामो समयदेखि पहिलो स्थानमै छ । त्यस्तै, दोस्रोमा नबिल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक, चौथो र पाँचौंमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक, छैटौं र ७ औं स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन बैंक , आठौंमा कृषि विकास बैंक, नवौंमा एनएमबि बैंक र दशौंमा एनआईशी एशिया बैंक छन् ।

गत साता पनि समग्र शेयर बजारमा गिरावट आउँदा कुल बजार पुँजीकरण १४ खर्ब ६७ अर्बबाट घटेर १४ खर्ब ३५ अर्बमा झरेको छ । नेप्से परिसूचक भने यो अवधिमा ११५५ अंकबाट घटेर ११२९ अंकमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.