छाप लगाउनेलाई भ्याट छुट दिन सकिँदैन : अर्थमन्त्री

  २०७६ असोज १० गते १६:५९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेशी कपडा ल्याएर छाप लगाएर बेच्ने कपडा उद्योगीलाई भ्याट छुट दिन नसकिएको भन्दै स्वदेशी उत्पादनलाई बजेटले सुविधा र सहुलियत दिने प्रशस्त व्यवस्था गरेको दाबी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नेपालको उत्पादनमूलक उद्योगहरुलाई दिने भ्याट छुटको व्यवस्था हटाए पनि त्यसलाई पूर्ति गर्ने अन्य धेरै व्यवस्था गरेको बताएका हुन् । ‘हामीले उत्पादनमूलक उद्योगहरुको विद्युत्मा ५० प्रतिशत छुट दियौं पुग्दैन भन्नुभयो, आयकरमा ५० प्रतिशत छुट दिने भन्यौं, त्यतिले पनि तपाईँहरुलाई पुगेन । हामीले कपडा उद्यागीहरुले लिएको ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिन्छौं भनेका छौं, त्यसका लागि कार्यविधि बन्दैछ, तर यहाँनिर तपाईँहरुको इमान्दारीताको परीक्षा पनि हुन्छ ।’ अर्थमन्त्री खतिवडाले भने ।

उनले उद्योगीहरुलाई उद्योग दर्ता गर्न र स्थायी लेखा नम्बर दिन समेत स्थायी लेखा नम्बर आग्रह गर्दै भने– ‘हामी पनि तपाईँहरुलाई सहयोग गर्छौं, तपाईहरु पनि हामीलाई सहयोग गर्नुस्, तपाईँहरुले हामीलाई विश्वास गरिदिनुपर्यो ।’

उनले हाल सरकारी खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गर्नुपर्ने व्यवस्था भएको भन्दै अब त्यसो गर्न नसके स्पष्टिकरण नै दिनुपर्ने व्यवस्था गर्दै ऐन संशोधन गर्न लागिएको जानकारी समेत दिए । खतिवडाले सम्भव भएसम्म कपडामा आत्मनिर्भरतामा जान प्रयास गरिरहेको समेत बताए ।

सरकार र निजी क्षेत्रको सम्बन्ध गाडिको इन्जिन र ड्राइभरकोे जस्तै भएको भन्दै एकले अर्कोलाई अविश्वास गरेर दुवै चल्न नसक्ने बताए । उनले आयात बढ्दा र घट्दा पनि सरकारलाई चिन्ता हुने भन्दै आयातको स्वरुप के छ भनेर हेर्न उद्योगीहरुलाई सुझाव दिए । ‘आयातमा अंकको कुरा होइन, यसभित्रका अंगहरु कस्ता छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने ।

लगानीको वातावरण नसुध्रिएको गुनासोप्रति कटाक्ष गर्दै उनले भने – ‘लगानीको वातावरण बन्न केलाई खोज्नुभएको हो ? हामीले एकद्वार प्रणाली सुरु गर्यौ, ६ खर्बको जलविद्युत् निर्माणको चरणमा छन्, पर्यटनमा उल्लेख्य लगानी भएको छ ।’ उत्पादनमूलक क्षेत्रमा लगानी कम भएको अवस्था भने सही भएको उनको भनाई थियो, यसैप्रति लक्षित गर्दै उनले भने– ‘आजको भोलि नै लाभ उठाउने अवसर भने त्यसमा नहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.